एजेन्सी – १६ वर्ष देखि लगातार बार्सिलोनामा रहेर विभिन्न सफलता हाँसिल गरेका लियोनेल मेस्सी क्लब बिहिन छन्। बार्सिलोनासंगको सम्झौता थप नगरेसँगै मेस्सी क्लब बिहिन बन्न पुगेका हुन्।
सम्झौता थप गराउन भएका सम्पूर्ण प्रयास असफल भएपछि बार्सिलोना मेस्सीलाई अर्को सम्झौताका लागि राजि गराउने प्रयासमा जुटेको छ। त्यसको लागि बार्सिलोनाले मेस्सीलाई विभिन्न अफर दिने तयारी गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।
केहि संचार माध्यमहरुका अनुसार बार्सिलोना मेस्सीलाई पुनः अनुबन्ध गर्नको लागि आवश्यक हुने आर्थिक श्रोत जुटाउन लागिरहेको छ। त्यसको लागि उसले केहि महत्वपूर्ण खेलाडीलाई समेत बिक्री गर्ने योजना बनाएको छ।
पछिल्लो पटक बार्सिलोना एन्टोइन ग्रिज्मानलाई अन्यत्र पठाउने पक्षमा रहेको बताइन्छ। ग्रिज्मानलाई बिक्री गरेर उक्त रकम मेस्सीलाई पुनः अनुबन्ध गर्ने प्रयोग गर्न बार्सिलोनाले चाहिरहेको स्पेनका मिडियाहरु बताउँछन्।
कहाँ होला अब ग्रिज्मानको भविष्य ?
बार्सिलोना छाडेको खण्डमा ग्रिज्मान इंगलिस प्रिमियर लिग जाने उच्च सम्भावना रहेको छ। ग्रिज्मान माथि चेल्सीले चासो देखाएको बताइन्छ। इंग्ल्याण्डका अन्य क्लबहरु पनि ग्रिज्मानमा चासो राखेपनि चेल्सीले भने ग्रिज्मानलाई अलि बढी प्राथमिकता दिएको बेलायती संचार माध्यम डेलीस्टार जनाउँछ।
नयाँ सम्झौताका लागि मेस्सी तयार
कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरिरहेका मेस्सी बार्सिलोनासंग अर्को सम्झौता गर्न तयार रहेको बुझिएको छ। तलब सम्बन्धि ला लीगाको नियमका कारण मेस्सीले आफ्नो सम्झौताको म्याद समाप्त हुन दिएको र उनले क्लबसंग छिट्टै नयाँ सम्झौता गर्ने धेरैको अनुमान छ।

