जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड: ५ जना भाग्यमानीले पाए ११ कित्ता!

काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड आज भएको छ। सामाजिक संजालमा लाइभ गर्दै आइपिओ  बाँडफाँड  गरिएको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओका लागि मागभन्दा १६.९१ गुणा बढी  अर्थात् २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिइएकोमा ८.८६ प्रतिशत आवेदक ( १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दर) ले मात्रै सेयर पाएका छन् । जसमध्ये  ५ जना भाग्यमानीले  गाेलाप्रथाबाट नै ११ कित्ताका दरले शेयर पाएका छन् ।

बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार आइपिओ बाँडफाँड गोलाप्रथाबाट गरिएको हो ।

कम्पनीको १९ करोड ७७ लाख ३० हजार रुपैंयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला गरेको थियो। त्यसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो।

बाँकी १८ लाख ४८ हजार १५ कित्ता भने सर्वसाधारणको भागमा परेको थियो। माग भए भन्दा १६ दशमलव ७३ गुणा बढी रू. ३ अर्ब ९ करोड १० लाख ५३ हजार बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ। योग्य आवेदक मध्ये १ लाख ८४ हजार ७ सय ९६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्  भने बाँकी ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

कसरी हेर्ने नतिजा  ?

आइपिओको नतिजा सिडिएससीको वेबसाइट (https://iporesult.cdsc.com.np/) बाट हेर्न सकिन्छ । जसको लागि सिडिएससीको वेबसाइटमा गएर कम्पनि सेलेक्ट गरि 16-digit BOID मा आफ्नो डिम्याट नम्बर राखेर हेर्न सकिन्छ।

प्रकाशित : बुधबार, असार २३, २०७८१०:५५

खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ, कसरी आवेदन दिने त ?