बुधबार कोपा अमेरिका २०२१ अन्तर्गतको दोस्रो सेमी-फाइनल खेलमा अर्जेन्टिना विजयी भएको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बनेपछि कोलम्बियालाई पेनाल्टीमा ३-२ गोलले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो।

यसअघि पहिलो सेमी-फाइनल खेलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको थियो। योसँगै कोपा अमेरिकाको फाइनलमा विश्वकै सबैभन्दा ठूलो मानिने भिडन्त हुने पक्का भएको छ। दुइ दक्षिण अमेरिकी महारथी बीच हुने खेललाई विश्वकै सबैभन्दा ठूलो राइभलरीको रूपमा हेरिन्छ। ११ जुलाई नेपाली समय अनुसार बिहान ५:४५ मा ब्राजिलको माराकाना स्टेडियममा फाइनल खेल हुनेछ।

सेमी-फाइनलमा पेरुलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि ब्राजिलका स्टार खेलाडी नेइमारले फाइनलमा अर्जेन्टिना र मेस्सी विरुद्ध खेल्न चाहेको पनि बताएका थिए। मेस्सी र नेइमार निकै राम्रो साथी मानिन्छ। २०१३ देखि २०१७ सम्म बार्सिलोनामा एकसाथ खेलका यी दुई स्टार अहिले पनि निकै असल मित्र हुन्।

यस्तोमा दुई मित्र बीचको भिडन्तमा कसले बाजी मर्ला त ? यो त ११ जुलाईको फाइनल खेलपछि नै थाहा हुनेछ। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको अर्जेन्टिनाका लागि यो पाचौं फाइनल हुनेछ। २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजित हुँदा मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान थिए। त्यस्तै, उनकै कप्तानीमा रहेको टोली २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पुग्यो तर दुबै पटक चिल्लीसँग पराजित भयो। त्यस्तै, २००८ को कोपा अमेरिका फाइनलमा ब्राजिलसँग पराजित भएको टोलीमा पनि मेस्सी रहेका थिए।

सबै ४ फाइनलमा पराजित भएका मेस्सी यो पटक भने जीत हात पार्दै आफ्नो करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने दाउमा रहेका छन्। उनी जारी प्रतियोगितामा निकै उत्कृष्ट लयमा पनि रहेका छन्। आज भएको सेमी-फाइनल खेलमा लाउटारो मार्टिनेजको गोलमा असिस्ट प्रदान गरेसँगै प्रतियोगितामा मेस्सीको असिस्ट सङ्ख्या ५ पुगेको छ। साथै उनले ४ गोल पनि गरिसकेका छन्।

