एजेन्सी – चोट खेल जगतको एक अभिन्न हिस्सा हो। खेलको दौरान खेलाडीहरुलाई जुनै पनि बेला चोट लाग्न सक्छ। चोटको विषयमा फुटबल पनि अछुतो छैन। खेलका दौरान धेरै खेलाडीहरु घाइते हुन पुग्छन्। एक खेलाडी घाइते हुँदा उक्त खेलाडी मात्र नभई सिङ्गो टोली नै प्रभावित हुन पुग्छ।
अझ क्लब फुटबलमा एक खेलाडी घाइते भएर लामो समय मैदान बाहिर रहेको अवस्थामा क्लबले झनै ठूलो नोक्सान बेहोर्नुपर्ने हुन्छ। त्यस्तो हुँदा क्लबलाई ठूलै आर्थिक भार पर्ने हुन्छ। बेटिटन स्पोर्ट्स द्वारा गरिएको एक अध्ययनका अनुसार खेलाडी घाइते भएका कारण युरोपका क्लबहरुले ठूलो धनराशि गुमाउने गरेका छन्।
खेलाडी घाइते भएका कारण हालको अवस्थामा सबै भन्दा बढी घाटा बेहोर्ने क्लब रियल म्याड्रिड रहेको बेटिटन स्पोर्ट्सले जनाएको छ। बेटिटन स्पोर्ट्सले सबै भन्दा महँगो चोटको सूची र सबै भन्दा बढी घाइते खेलाडीमा खर्च गर्ने क्लबको सूची नै तयार पारेको छ। घाइते खेलाडीमा सबै भन्दा बढी खर्च गर्ने क्लबमा रियल म्याड्रिड रहेको छ। उसका अनुसार सन् २०२० को अप्रिल देखि मार्च २०२१ सम्म रियलले घाइते खेलाडीहरुको पारिश्रमिकमा ३८ मिलियन पाउण्ड भन्दा बढी खर्च गरेको छ।
त्यस्तै घाइते खेलाडीमा बढी खर्च गर्ने दोस्रो क्लबमा पेरिस सेन्ट जर्मेन(पिएजजी) रहेको छ। पिएजजीले सन् २०२० को अप्रिल देखि मार्च २०२१को अन्तरालमा ३५ मिलियन पाउण्ड बढी रकम घाइते खेलाडीमा खर्च गरेको छ।
उक्त सूचीको तेस्रो स्थानमा बार्सिलोना छ। बार्सिलोनाले घाइते खेलाडीमा ३४ मिलियन पाउण्ड भन्दा बढी रकम खर्च गरेको बेटिटन स्पोर्ट्सले जनाएको छ। त्यस्तै म्यानचेस्टर युनाइटेड, लिभरपुल, युभेन्टस, चेल्सी जस्ता क्लबले पनि घाइते खेलाडीमा धेरै खर्च गरेका छन्।

पछिल्लो समय रियललाई सबै भन्दा ठूलो टाउको दुखाई बनेका खेलाडी इडन हाजार्ड रहेका छन्। गत सिजन हाजार्ड घाइते भएको २ सय ५२ दिन मैदान बाहिर रहेका थिए। हाजार्डको साप्ताहिक पारिश्रमिक ४ लाख ७ हजार पाउण्ड रहेको छ। त्यस अन्तरालमा रियलले १४ मिलियन पाउण्ड भन्दा बढी पारिश्रमिक हाजार्डलाई दिन परेको थियो।

लालिगाकै अर्को क्लब बार्सिलोनाका फिलिपे कौटिन्हो पनि चोटका कारण २ सय ३३ दिन मैदान बाहिर रहे। घाइते कौटिन्होलाई बार्सिलोनाले त्यसक्रममा १३ मिलियन पाउण्ड भन्दा बढी पारिश्रमिक दिन परेको थियो। त्यस्तै पिएसजीका नेयमार ९५ दिन घाइते अवस्थामा रहेका थिए। त्यसक्रममा उनलाई क्लबले ११ मिलियन पाउण्ड बढी पारिश्रमिक दिएको थियो।

