एजेन्सी – रियो दि जेनेरियो । पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै लियोनल मेस्सीको अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा आज आफ्नो स्थान बनायो । ९० मिनेटको सनसनीपूर्ण प्रतिस्पर्धा १–१ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटबाट फैसला भएको थियो । फुटबलको सामान्य नियमअनुसार कुनै पनि नकआउट म्याचमा निर्धारित समयभित्र जित–हार भएन भने अतिरिक्त ३० मिनेट समय थप हुन्छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
हिजो राति नै युरो २०२० अन्तर्गत भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । त्यसबाट पनि नतिजा नआएपछि पेनाल्टी सुटआउटबाट स्पेनलाई पन्छाउँदै इटालीले फाइनलमा स्थान बनाएको हो । तर, अर्जेन्टिना र कोलम्बियाको म्याचमा भने अतिरिक्त समय नथपि सिधै पेनाल्टी सुटआउटमा जाँदा धेरै दर्शक अलमलमा परेका छन् ।
यी दुवै महाद्वीपस्तरीय प्रतियोगिताको फर्म्याट लिक कम नकआउट हो । तर, पनि केही दुई प्रतियोगिता केही पक्षहरूमा फरक देखिन्छन् । सहभागी मुलुकको संख्या कम हुने भएकाले कोपा अमेरिकामा समूह चरणबाट ८ टोली सोझै क्वार्टरफाइनल पुग्छन् । र, अन्तिम चार हुँदै फाइनल समीकरण पूरा हुन्छ । यसै क्रममा प्रतियोगिता जारी रहँदा दक्षिण अमेरिकी फुटबल महासंघले ‘नक आउट’ को फम्र्याट परिवर्तन ग¥यो । सन् २०१५ र ०१६ को संस्करणमा झैं महासंघले नकआउटमा निर्धारित समयको खेल बराबरीमा टुङ्गिए सोझै पेनाल्टी सुटआउटमा जाने नियम बनाएको थियो । जसका कारण आज बिहान भएको अर्जेन्टिना र कोलम्बियाबीचको खेलमा अतिरिक्त समय थप नगरिएको हो ।
फाइनलमा के हुन्छ ?
महासंघका अनुसार यो नियम कोपा अमेरिकाको सेमिफाइनलसम्म मात्रै हो । ब्राजिल र अर्जेन्टिनाबीच हुने फाइनल ९० मिनेटसम्म बराबरीमा सकियो भने खेल सोझै पेनाल्टीमा पुग्नेछैन । त्यसअघि अतिरिक्त समय ३० मिनेटको हुनेछ । त्यो समयमा पनि खेलको नतिजा निस्किए भने मात्रै खेल पेनाल्टी सुट आउटमा पुग्ने महासंघले बताएको छ ।

