पेनाल्टी मिस गरेपछि कोलम्बियाका मिनालाई मेस्सीले भने ‘अब नाच, नाच्न अब !” [भिडियो सहित]

बुधबार बिहान भएको कोपा अमेरिकाको दोस्रो सेमी-फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा लायक बने अर्जेन्टिनी गोलकिपर एमी मार्टिनज। उनले कोलम्बियाका ३ जना खेलाडीको पेनाल्टी बचाउ गरेका थिए। कोलम्बियाका एरी मिना डेभिनसन सान्चेज र एडविन कार्डोनाको पेनाल्टी मार्टिनजले विफल पारेका थिए। अहिले उक्त पेनाल्टी सुटआउटको एक भिडियो निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी कोलम्बियाका खेलाडी एरी मिनाले पेनाल्टी मिस गरेपछि ‘अब नाच, नाच अब’ भन्दै गरेको देख्न सकिन्छ।

मेस्सीले यसबारे नबोले पनि यस घटनालाई मिनाले उरुग्वेलाई क्वाटर-फाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेपछि गरेको सेलिब्रेसनसँग जोडिएर हेरिएको छ। उक्त खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टीमा ४-२ ले पराजित गरेपछि मिनाले नाचेर खुसी मनाएका थिए। तर सेमी-फाइनलमा भने भाग्य एरीको विपरित रह्यो। उनको पेनाल्टी अर्जेन्टिनी किपर मार्टिनजले विफल पारे। जसपछि खुसी मनाउँदै मेस्सीले बोलेका थिए,”नाच अब, नाच।”

खेलको छैठौं मिनेटमा नै मेस्सीको असिस्टमा लाउटारो मार्टिनजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको १५ औं मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गर्दै खेल बराबरीमा लेराएका थिए। जसपछि खेलमा कुनै गोल हुन नसक्दा खेल टाइ-ब्रेकरमा पुगेको थियो जसमा अर्जेन्टिना ३-२ ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

प्रकाशित : बिहिबार, असार २४, २०७८१२:२६

युरो गोल्डेन बुट: केनले रोनाल्डोलाई पछि पार्लान् त ?