“मेस्सीले ब्यालुन डी ओर २०२१ जिते गलत हुनेछ, कान्तेले जित्नुपर्छ”

सोमाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक साइद अब्दी हाइबेका अनुसार सन् २०२१ ब्यालुन डी ओर अवार्डका सहि हकदार अर्जेन्टिनी कप्तान लियोनल मेस्सी नभएर चेल्सी तथा फ्रान्सेली स्टार एन्गोलो कान्ते भएको बताएका छन्। हाल ३४ वर्षीय मेस्सीलाई उक्त अवार्डका प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्याउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेका मेस्सी हाल निकै उत्कृष्ट लयमा रहेका छन्। जारी कोपा अमेरिकामा ६ पटकका ब्यालुन डी ओर विजेताले ४ गोल गर्नुका साथै थप ५ गोलमा असिस्ट पनि प्रदान गरेका छन्। यसै कारण उनी हाल ब्यालुन डी ओर पावर र्याँकिंगमा पहिलो नम्बरमा रहेका छन्। यसअघि चेल्सी स्टार कान्ते पहिलो स्थानमा रहेका थिए।

बार्सिलोनाको लागि गत सिजन त्यति खास नरहे पनि क्लबका कप्तान मेस्सी भने निकै उत्कृष्ट लयमा रहेका थिए। उनले २०२१ मा सबै प्रतियोगितामा गरेर ३३ गोल गरेका छन् भने थप १४ गोलमा असिस्ट पनि प्रदान गरेका छन्। यस वर्ष लेवान्डोस्की बाहेक मेस्सी भन्दा कुनै पनि खेलाडी धेरै गोलमा संलग हुन सकेका छैनन्, जसको कारण उनलाई सातौँ पटक ब्यालुन डी ओर जित्नको लागि प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

तर ५० वर्षीय हाइबेका अनुसार भने हाल मेस्सी भन्दा कान्ते नै उक्त अवार्डका लागि सहि हकदार हुन्। चेल्सीलाई च्याम्पियन्स लिग उपाधि जिताउन प्रमुख भूमिका खेलेका कान्तेको टोली फ्रान्स युरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएपछि उनी मेस्सी भन्दा पछि परेका हुन्।

गोलसँग कुरा गर्दै हाइबेले भने,”एन्गोलो कान्ते निकै उत्कृष्ट खेलाडी हुन् जसलाई मैले २०१९ मा भेट्ने मौका पाएको थिए। तर उनको सहि मुल्यांकन हुँदैन। अहिलेको समयमा मलाई लाग्छ कि कान्तेलाई ब्यालुन डी ओर दिनु १०० प्रतिशत सहि निर्णय हुनेछ।” तर उनले मेस्सीले कोपा अमेरिका जितेको खण्डमा भने अर्जेन्टिनी कप्तान पनि दाबेदार हुने बताएका छन्।

प्रकाशित : बिहिबार, असार २४, २०७८१४:१९

‘द हन्ड्रेड’ खेल्न सन्दीप आज राति बेलायत जाँदै