अर्जेन्टिनालाई कोपा अमेरिका २०२१ को फाइनलमा पुर्याउन सबैभन्दा महतवपूर्ण भूमिका कप्तान लियोनल मेस्सीको रहेको छ। उनले जारी प्रतियोगितामा ४ गोल गर्नुका साथ ५ असिस्ट प्रदान गरेका छन्। पूर्व बार्सिलोना कप्तान यस प्रतियोगितामा अर्जेन्टिनाले गरेको ११ गोल मध्ये ९ गोलमा संलग्न रहेका छन्।

३४ वर्षीय स्ट्राइकरले गरेको ४ गोल मध्ये दुई गोल फ्री-किक मार्फत गरेका हुन्। सेमी-फाइनलमा कोलम्बिया विरुद्धको खेल राष्ट्रिय टोलीका लागि मेस्सीको १५० औं खेल रहेको थियो। अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि मेस्सीले भन्दा अरु कुनै पनि खेलाडीले धेरै खेल खेलेका छैनन्। कोपा अमेरिका २०२१ को फाइनल खेल मात्र बाँकी रहँदा जारी प्रतियोगितामा मेस्सीले केहि रेकर्डहरु बनाइसकेका छन् भने केहि रेकर्ड उनले फाइनल खेलमा तोड्न सक्ने सम्भावना रहेको छ।
यस प्रतियोगितामा मेस्सीले के-के रेकर्ड आफ्नो नाममा गरिसकेका छन् त ?

अर्जेन्टिनाको लागि सबैभन्दा बढी खेल
जारी प्रतियोगिताको बोलिभिया विरुद्धको खेल मेस्सीको अर्जेन्टिनाको लागि १४८ औं खेल थियो। उक्त खेलमा उनले पूर्व बार्सिलोना खेलाडी जेभियर मास्केरानोको नाममा रहेको राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड आफ्नो नाममा गरेका हुन्।

६ संस्करणको कोपा अमेरिकामा सहभागी हुने पहिलो अर्जेन्टिनी खेलाडी
कोपा अमेरिका २०२१ मा सहभागी भएसँगै मेस्सी पहिलो यस्तो अर्जेन्टिनी खेलाडी बनेका छन् जसले ६ संस्करणको कोपा अमेरिकामा सहभागी भएका छन्। यसअघि यो रेकर्ड पनि जेभियर मास्केरानोसँग संयुक्त रूपमा रहेको थियो।

एक संस्करणमा सबैभन्दा धेरै असिस्टको रेकर्ड
ब्राजिलमा जारी प्रतियोगिताको फाइनल खेल बाँकी रहँदा मेस्सीको नाममा ५ असिस्ट रहेको छ। यो पनि एक रेकर्ड नै हो। एकै संस्करणमा अहिलेसम्म कुनै पनि खेलाडीले पाँच असिस्ट प्रदान गरेको थिएन।
फाइनल खेलमा मेस्सीले तोड्न सक्ने रेकर्डहरु के-के हुन् त ?

कोपा अमेरिका इतिहासमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी
फाइनलमा सहभागी जनाएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले कोपा अमेरिका इतिहासमा सबैभन्दा धेरै खेल्ने खेल्ने पूर्व चिल्ली खेलाडी सर्जियो लिभिंगस्टोनको ३४ खेलको रेकर्ड बराबरी गर्नेछन्। यस प्रतियोगिता सुरु हुनु अघि मेस्सीले कोपा अमेरिका इतिहासमा २७ खेल खेलेका थिए।

कोपा इतिहासमा सबैभन्दा धेरै गोल
जारी संस्करणमा ४ गोल गरेका मेस्सीले ६ संस्करणमा गरेर कुल १३ गूल गरेका छन्। फाइनलमा ब्राजिल विरुद्ध उनले ४ गोल गरेको खण्डमा उनले कोपा अमेरिका इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बराबरी गर्नेछन्। कोपा इतिहासमा ब्राजिलका जिजिन्हो र अर्जेन्टिनाका नोबर्टो मेन्डेजले सबैभन्दा बढी १७ गोल गरेका छन्।

