काठमार्डौँ – सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
कर्मचारीहरूले कामचलाउ सरकारले हतार–हतारमा सरकारकी सम्पत्ति माफियालाई सुम्पन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै यो कार्य तत्काल रोक्न माग गरेका छन् । निगमको हितमा काम गर्नुपर्ने महाप्रबन्धक डिमप्रसाद पौडेलले सरकारको मिलोमतोमा माफियाको हितमा काम गरेको भन्दै उनीहरूले महाप्रबन्धकको तत्काल राजीनामाको समेत माग गरेका छन् ।
सरकारले नेपाल वायुसेवा निगमलाई जनतामा लैजाने भनेर भ्रम छरेर माफियालाई सुम्पने खेल खेलेको उहाँहरूको आरोप छ । कर्मचारीलाई कुनै थाहा नै नदिई यत्रो कम्पनी तीन दिनको छोटो समयमा प्रबन्धपत्र तयार बनाई ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिनेलगायतका प्रावधान राख्नुले सीधै माफियालाई सुम्पन खोजिएको पुष्टि हुन्छ, संघर्ष समितिले भनेको छ ।
‘यदि, सही नियतले पब्लिकमा जान लागेको हो भने तयार भएको प्रबन्धपत्रमा सरकारको भूमिका किन प्रस्ट पार्न सकिएन ? किन ५१ प्रतिशत संस्थापक शेयरमा सरकारको नाम राख्न सकिएन ?’, कर्मचारीले भनेका छन्– ‘निगमलाई निजीकरण गरिनबाट रोकिनुपर्छ ।’
करोडौं पैसा तिरेर हुने निगमको महाप्रबन्धकको राजनीतिक नियुक्ति निगमका लागि घातक भएको भन्दै यस्तो व्यवस्थासमेत तुरुन्त खारेज गर्न आन्दोलनकारीहरूको माग छ । करोडौं पैसा तिरेर महाप्रबन्धक बन्न आएको र त्यही लगानी उठाउन खोज्दा निगम निरन्तर घाटामा समेत जाने गरेको उनीहरूको तर्क छ ।
भित्रभित्रै निगमलाई निजीकरण गर्ने थाहा पाएलगत्तै महाप्रबन्धकलाई जिज्ञासा राख्दा त्यसो नभएको जवाफ आएको, तर महाप्रबन्धककै हस्ताक्षर गरिएको प्रबन्धपत्र फेला परेपछि जिज्ञासा राख्दा काम अघि बढिसकेको भन्दै यस विषयमा जे मन लाग्छ गर भन्नेजस्ता जवाफ आएपछि संघर्षमा उत्रिनुपरेको कर्मचारीको भनाइ छ ।
नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगी प्रश्न गर्नुहुन्छ– ‘हामीलाई शंका लागेर सोधपुछ गर्दा होइन भन्ने तर भित्रभित्रै सम्पूर्ण डकुमेन्ट तयार गरेर सञ्चालक समितिको निर्णयसमेत गराएर सरकारसमक्ष प्रस्तुत गरेर आन्तरिकरूपमा निजीकरण गर्न खोज्ने महाप्रबन्धक कसरी निगमको हितमा हुन सक्छन् ?’
नेपाल राष्ट्रिय कर्मचारी संघ नेपाल वायुसेवा निगमका अध्यक्ष राजु श्रेष्ठले महाप्रबन्धक सही भए बाहिर लुक्दै हिँड्नुको साटो अफिस आएर सबै कर्मचारीका सामुन्ने यसो हो भन्न सक्नुपर्छ भन्नुभयो ।
नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले महाप्रबन्धकले बारम्बार झुट बोल्ने, अफिस नआउने, बाहिर–बाहिरै मिडियालाई गलत समाचार दिने कार्य गरेकाले गत शुक्रबार तालाबन्दी गरेको, त्यसको समाधान वार्ताबाट गर्नुपर्नेमा उल्टो प्रहरी प्रशासन लगाएर कर्मचारीलाई लाठीचार्ज गरेको भन्दै उहाँले भत्र्सना गर्नुभएको छ ।
निगम कर्मचारी संगठनमा पूर्वमहासचिव नरेश यादवले महाप्रबन्धकको राजीनामाको विकल्प नभएको दोहो¥याउनुभयो । निगमलाई पब्लिक शेयरमा लान सकिने तर विज्ञहरूको सुझाव र नेपाल सरकारको अधिकतम शेयर हुने गरी लैजानुपर्ने उहाँको भनाइ छ ।

