रोल्पा – रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हिंड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुपर्यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’
माओवादी द्वन्द्वताका २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै बलात्कारमा परेकी थिइन् सरला। त्यही पिरले रक्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पीडा थपियो। उपचार अभावमा आठ वर्षका छोरासमेत गुमाएकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’ कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्वन्द्वपीडितको तथ्यांकमा पनि अटाएकी छैनन्।
उमेर पुगेकी छोरीले ओछ्यानमै दिसापिसाब गर्न थालेपछि सरलाले सुत्नुअगाडि छोरीको खाटमा सिस्नो राखिदिने गरेको बताउँछिन्। ‘माइतीमा बस्छु। छोरीले सुतेकै ठाउमा दिसा गरिदिँदा माइतीतिरका रिसाउँछन्। अहिले त उसको खाटमा सिस्नो राखिदिन्छु,’ उनले भनिन्, ‘सिस्नो राख्न थालेपछि ओछ्यान दिसा गर्न बन्द गरेकी छ।’ कोरोनाका कारण भएको बन्दाबन्दीले मजदुरी खोसेपछि सरलालाई घर चलाउन हम्मेहम्मे परेको छ। चिसो चुलो तताउन कठिन भएपछि उनी बन्दाबन्दी छलेर छिमेकमा मजदुरी गर्न थालेकी छन्।
एउटी आमा जसले मन गाँठो पारेर छोरीलाई तीन महिने सुई लगाउँछिन्। उनका बारेमा सोचिदिने फुर्सदसमेत कसैलाई छै। ठाउँठाउँमा आफ्नी छोरीजस्ता अपांगता भएकाहरू राख्ने ठाउँ छन् भन्ने सुनेकी सरलालाई कसैले छोरी लगिदिएर राखिदिए अनि उपचार गरिदिए दैनिकी अलि सहज हुन्थ्यो कि भन्ने अपेक्षा गरेकी छन्। ‘यसले गरी वा मैले गरें थाहा छैन तर ठुलै पाप गरेका रहेछौं। त्यही पापको सजाय भगवानले भोगाउँदैछन् होला।’ यतिबेला छोरी मरे पनि सुख पाउँछे होला जस्तो लाग्न थालेको सरला बताउँछिन्।

