एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमारले लियोनेल मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन्। कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग हारेपछि सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी रहेको बताएका हुन्।
कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई अंकमाल गर्दै बधाई दिएको सम्बन्धमा सामाजिक संजाल मार्फत जानकारी गराउँदै नेयमारले मेस्सीको जितमा आफू पनि खुशी भएको बताए।
मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेयमारले फेरि पनि मेस्सीसँग खेल्ने इच्छा रहेको पटक पटक बताउँदै आएका छन् ।
कोपाको सफलताका लागि मेस्सीलाई बधाई दिएको भन्दै नेयमारले इन्स्टाग्राममार्फत भावुक सन्देश दिएका छन् । ‘हारले दुःखी बनाएको छ । अहिले सम्म पनि म त्यसबाट बाहिर निस्कन सकेको छैन’, उनले भनेका छन्, ‘हिजो म हारें । अनि गएर सर्वोत्कृष्ट, फुटबल इतिहासकै मैले देखेका उत्कृष्ट, मेरो साथी र भाई मेस्सीलाई अंगालो मार्दै बधाई दिए । मैले जिस्केर उनलाई गाली गर्दै मलाई हरायौं भने ।’
नेयमारले मेस्सीका बारेमा अगाडि भनेका छन्, ‘हारबाट म निकै निराश छु । तर उनी अति उत्तम मान्छे हुन् । उनले फुटबल र मेरा लागि जे गरेका छन् त्यसका लागि उनीप्रति मेरो उच्च सम्मान छ । म हारलाई मन पराउँदिन । तर उपाधि जितेकोमा खुसी मनाउ । यो क्षणका लागि फुटबलले तिमीलाई कुरिरहेको थियो । बधाई छ साथी ।’

