एजेन्सी – गत साता मात्रै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका सर्जियो रामोसले युवा स्टार किलियन एम्बाप्पे पीएसजीमै रहुन् भन्ने चाहना व्यक्त गरेका छन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रामोसले कहाँ रहने र कहाँ नरहने भन्ने निर्णय गर्ने अधिकार एम्बाप्पेसँग रहेको भएपनि उनी पीएसजीमै रहुन् भन्ने आफ्नो चाहना रहेको बताएका हुन्। रामोसले एम्बाप्पेसँग खेल्ने आफ्नो चाहना रहेको बताए। त्यहि चाहनाका कारण उनी पीएसजीमै रहुन् भन्ने आफूले इच्छा राखेको रामोसको भनाई छ।
“म एम्बाप्पे पीएसजीमै रहुन् भन्ने चाहन्छु। किनभने म उत्कृष्टसँग खेल्न चाहन्छु।”,रामोसले भने,”म कसैलाई यो गर, त्यो गर भनेर भन्न चाहन्न। तर, मेरो अनुभवको आधारमा एम्बाप्पेलाई गोप्य रूपमा केहि सुझाव दिन भने अवश्य सक्छु।”
क्लब छाड्ने अथवा क्लबमै रहने भन्ने निर्णय नितान्त रुपमा एम्बाप्पेले नै लिनुपर्ने रामोसको भनाई छ। एम्बाप्पे जवान रहेको र एक खेलाडीको रुपमा थप विकसित हुन उनलाई उत्कृष्ट क्लब चाहिने रामोसले बताए। उक्त मौका एम्बाप्पेले पीएसजीमै पाउने रामोसको बुझाई छ।
नेयमार र एम्बाप्पेसँगै खेल्न उत्साहित
रामोसले नेयमार र एम्बाप्पेसँगै खेल्न र प्रशिक्षण गर्न आफू धेरै नै उत्साहित रहेको समेत बताए। नेयमारसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको रामोसको भनाई छ।
उनले भने,”नेयमारसँग मेरी धेरै राम्रो सम्बन्ध छ र एम्बाप्पे धेरै उच्च स्तरमा खेलिरहेका छन्। दुवैसँग खेल्न म आतुर छु। म केहि चाहन्छु भने त्यो जित हो।”

