एजेन्सी – कोरोना महामारीसँगै निम्तिएको आर्थिक समस्याका कारण दबावमा रहेको क्याटलान क्लब बार्सिलोना पारिश्रमिक भार कटौतीमा जुटेको छ। बार्सिलोना अहिले बढी पारिश्रमिक भएका खेलाडीहरुलाई बेच्ने योजना सहित अगाडी बढिरहेको छ।
महँगो मूल्यमा किनेर धेरै पारिश्रमिक दिरहेका खेलाडीहरुलाई बेच्ने बार्सिलोनाको योजना छ। त्यति मात्रै नभई लियोनेल मेस्सीसँग पुनः सम्झौता गर्नको लागि पनि बार्सिलोनाले पारिश्रमिक कटौती गर्ने योजना बनाएको बताइन्छ।
अहिले बार्सिलोनाले सबै भन्दा बढी एन्टोइन ग्रिजमनको बहिर्गमनलाई क्लबले प्राथमिकतामा राखेको छ। ग्रिजमनलाई अन्यत्र पठाउनका लागि बार्सिलोनाले विभिन्न क्लबहरुसँग कुराकानी गरिरहेको छ।
केहि समय अगाडी ग्रिजमन प्रिमियर लिग क्लब चेल्सी जाने चर्चा चलेको थियो। अहिले पनि चेल्सीसँग त्यस सम्बन्धमा छलफल भइरहेको बताइन्छ। त्यति मात्र नभई ग्रिजमनलाई एथ्लेटिको म्याड्रिड पठाउने विषयले पनि चर्चा पाइरहेको छ। गत वर्ष नै ग्रिजमन एथ्लेटिको फर्किने चर्चा चलेको थियो। त्यसबेला दुई क्लब बीच सट्टापट्टा गर्ने विषयमा छलफल भएको थियो।
युवा खेलाडी जोआओ फेलिक्सलाई बार्सिलोनामा ल्याएर ग्रिजमनलाई एथ्लेटिको पठाउने प्रस्ताव एथ्लेटिकोले ठाडै अस्विकार गरेको थियो। यस वर्ष पनि सो सम्बन्धमा छलफल भएको बताइन्छ। तर, फेलिक्सलाई बिक्री गर्न एथ्लेटिको तयार नभएपछि बार्सिलोनाको ध्यान अर्को खेलाडी तर्फ मोडिएको छ। एक खबरका अनुसार बार्सिलोनाको ध्यान सउल निगुएज तर्फ मोडिएको हो।
पारिश्रमिक बन्यो बाधक
एथ्लेटिको ग्रिजमनलाई पुनः भित्र्याउन तयार रहेपनि ग्रिजमनको भारी पारिश्रमिक बाधक बन्ने देखिएको छ। पारिश्रमिक घटाउन तयार रहेको खण्डमा ग्रिजमनलाई भित्र्याउन एथ्लेटिको मात्र नभई अन्य क्लबहरु पनि इच्छुक देखिन्छन्। त्यस्तो भएको खण्डमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पनि ग्रिजमन माथि नजर राख्ने बताइन्छ।

