लगातार ४ पटक विश्वकप जिते पनि मेस्सी म्याराडोना भन्दा उत्कृष्ट बन्न सक्दैनन्, म्याराडोनाको छायाँमै रहन्छन् !

अर्जेन्टिनी दिग्गज मारियो केम्पेसले वर्तमान अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले लगातार ४ पटक विश्वकप जिते पनि उनी कहिल्यै डिएगो म्याराडोना भन्दा राम्रा खेलाडी नहुने बताएका छन्। ३४ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले गत आइतबार कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गर्दै करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भए।

जसपश्चात ६ पटकका ब्यालुन डी ओर विजेताको ट्रफी क्याबिनेटमा अब विश्वकप उपाधि मात्र बाँकी रहेको छ। यस्तोमा केम्पेसका अनुसार जति नै सफल भएता पनि पूर्व बार्सिलोना कप्तान सधैं म्याराडोनाको छायाँमा रहनेछन्। १९७८ का विश्वकप विजेता केम्पेसले इयसपीएनसँग बोल्दै भने,”मेस्सीको लागि दुर्भाग्यको कुरा के हो भने उनी म्याराडोनाका प्रतिस्थापन मात्र हुन्। म्याराडोनालाई पछि पार्नको लागि निकै गाह्रो छ।”

यदि मेस्सीले लगातार ४ पटक विश्वकपको उपाधि जिते भने पनि उनी म्याराडोना भन्दा उत्कृष्ट हुन नसक्ने केम्पेसले बताए। उनले भने,”उनले अहिलेसम्म विश्वकप जितेका छैनन्। उनले जति उपाधि तथा अवार्ड जितुन् तर म्याराडोनासँग उनको तुलना गर्नै मिल्दैन।”

फुटबलको गोट(ग्रेटेस्ट अफ अल टाइम) विवादमा हालसम्म मेस्सीको विपक्षमा एक मात्र कुरा हुन्थ्यो: त्यो हो अन्तराष्ट्रिय उपाधिको कमी। तर कोपा अमेरिका उपाधिसँगै धेरैले गोट विवादमा पूर्णविराम लागेको पनि मान्न थालेका छन्। क्लब स्तर र व्यक्तिगत अवार्डको हिसाबले हेर्ने हो भने मेस्सी भन्दा सफल खेलाडी कोहि पनि रहेका छैनन्।

उनका चिर-प्रतिद्वन्दी पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र उनी बीच को उत्कृष्ट भन्ने बारे पनि लामो समय देखि चर्चा चल्दै आएको छ।  यी दुई खेलाडीले क्लब स्तर, व्यक्तिगत स्तरमा हरेक प्रकारको सफलता पाईसकेका छन्। अन्तराष्ट्रिय स्तरमा पनि यी दुई खेलाडी निकै सफल रहेका छन्।

प्रकाशित : बुधबार, असार ३०, २०७८१४:१४

एम्बाप्पे र नेयमारसँग खेल्न रामोस आतुर, रियल म्याड्रिड नजान एम्बाप्पेलाई सुझाव !