एजेन्सी – ब्राजिलका महान खेलाडी रोनाल्डिन्होले नेयमार आफ्नो उत्तराधिकारी भएको टिप्पणी गरेका छन्। एक खेल मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डिन्होले नेयमारलाई आफ्नो उत्तराधिकारी भएको बताएका हुन्।
फुटबल फ्रान्ससँग कुराकानी गर्दै रोनाल्डिन्होले नेयमारलाई आफू धेरै नै मन पराउने बताए। उनका अनुसार नेयमार सम्पूर्ण ब्राजिलियनका आशा र भरोशा गरेका खेलाडी रहेका छन्। नेयमारले ब्राजिललाई विश्वकप दिलाउनेमा पनि रोनाल्डिन्होले आफू विश्वस्त रहेको बताए।
“हो, निस्सन्देह, उनी मेरा उत्तराधिकारी हुन्।”,रोनाल्डिन्होले भने,”उनी हाम्रो मुख्य खेलाडी हुन्। ब्राजिलियनहरूको ‘आइडोल’ हुन्। उनले साहस गुमाएका छैनन्, न त उनको ड्रिब्लिङ क्षमता नै गुमेको छ। उनलाई पिचमा देख्दा सँधै खुशी हुन्छु”
रोनाल्डिन्होले पेरिस सेन्ट जर्मेन (पीएसजी)का अर्का खेलाडी किलियन एम्बाप्पेको खुलेर प्रशंसा गरेका छन्। एम्बाप्पेको खेलले पनि आफूलाई धेरै प्रभावित बनाएको रोनाल्डिन्होले बताए।
एम्बाप्पेको खेलले आफूले रोनाल्डो याद दिलाउने रोनाल्डिन्हो बताउँछन्। एम्बाप्पे धेरै नै क्षमतावान रहेको उनले बताए। एम्बाप्पेले थप सुधारिएको प्रदर्शन गर्ने रोनाल्डिन्होको विश्वास छ।
उनले भने,”एम्बाप्पेको खेलले मलाई केहि हद सम्म रोनाल्डोको याद दिलाउँछ। मलाई यो केटा धेरै मन पर्छ। उनी महान र अत्यन्त प्रतिभाशाली खेलाडी हुन्।”
त्यस्तै रोनाल्डिन्होले आउने समयमा एम्बाप्पेले बालोन डो’ओर जित्ने दावी पनि गरेका छन्। एम्बाप्पेसँग बालोन डो’ओर जित्ने सम्पूर्ण क्षमता रहेको उनको भनाई छ।
“एम्बाप्पेसँग बालोन डो’ओर जित्ने सम्पूर्ण गुण छन्। म उनलाई खेलिरहेको हेर्न चाहन्छु, विशेष गरी नेयमारसँग खेल्दा।”,रोनाल्डिन्होले भने।

