एजेन्सी – विश्व कप जितेका मारियो केम्पेसले लियोनेल मेस्सी कुनै पनि हालतमा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाको स्तरमा पुग्न नसक्ने दावी गरेका छन्।
अर्जेन्टिनाले कोपा अमेरिका जितेसँगै म्याराडोनासँग मेस्सीको तुलना भैरहेको अवस्थामा अर्जेन्टिनाबाट खेल्दै विश्वकप जित्न सफल खेलाडी केम्पेसले मेस्सी म्याराडोनाको स्तरमा पुग्न नसक्ने दावी गरेका हुन्।
ईएसपीएनसँगको कुराकानीका क्रममा केम्पेसले मेस्सी र म्याराडोना बीच तुलना नै गर्न नमिल्ने बताए। म्याराडोनालाई छायाँमा पार्न धेरै नै कठिन रहेको र त्यसो गर्न मेस्सीले नसक्ने केम्पेसको भनाई छ।
केम्पेसले भने,”पछिल्लो केहि वर्षयता मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् भन्दै म्यारोडोनासँग तुलाना हुने गरेको छ । मेस्सीका लागि दुर्भाग्य हो कि उनी म्यराडोनाका प्रतिस्थापन मात्रै हुन्। म्याराडोनालाई छायाँमा पार्न धेरै नै कठिन छ।”
त्यसो भनिरहँदा म्याराडोनालाई विश्वभर पूजा गरिने पनि केम्पेसले स्मरण गरे। मेस्सीले लगातार ४ विश्वकप जितेपनि म्याराडोनाको स्तरमा पुग्न नसक्ने उनको भनाई छ।
“यदि [मेस्सी] म्याराडोनाभन्दा राम्रो हुन चाहन्छन् भने उनले लगातार चार विश्वकप जितेको अवस्थामा पनि त्यो पूरा हुने छैन।”,केम्पेसले भने। मेस्सीले अन्य उपाधि र ट्रफी जितेको भएपनि विश्वकप भने जित्न नसकेको विषय उठान गर्दै म्याराडोनासँग तुलना गर्न नहुने कुरा दोहोर्याए।
उनले भने,”मेस्सीले अहिले सम्म विश्व कप जितेका छैनन् । उनले के र कति उपाधि जिते भन्नेले खासै अर्थ राख्दैन। मेस्सीले हाँसिल गरेको सफलतालाई म्याराडोनाको सफलतासँग तुलना गर्न मिल्दै-मिल्दैन।”