काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। बुधबार राति देखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यको मूल्य घटाएको हो।
पेट्रोल डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १ का दरले घटाइएको निगमले जनाएको छ। घटेको मूल्य बुधबार मध्यराति पछि नै लागू हुनेछ। मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १११ रुपैयाँ कायम भएको छ।
केहि समय अगाडी मात्रै निगमले पदार्थको मूल्य बढाएको थियो। मूल्य बढेपछि नेपाल विद्यार्थी संघलगायतका ५ विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा आन्दोलनको घोषणा गरेका थिए।
पेट्रोलियम पदार्थको मूल्य घटाइएको बारे निगमले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। आन्दोलनरत संयुक्त विद्यार्थी संगठन (नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौं) को मागलाई सम्बोधन गर्दै मूल्य घटाइएको निगमले जनाएको छ।
“नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजना गर्दै जाँदा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई लिएर उक्त मुल्यवृद्धि फिर्ता गरिनु पर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठन (नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौं) को मागको सम्बनधमा निरन्तरको छलफलबाट उक्त मागलाई मध्यजनगर गरी निगम सञ्चालक समितिले असार ३० गतेको निर्णय बमोजिम असार ३० गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/ मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा एक रुपैयाले घटाइ काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमश: १ सय २८ तथा १ सय ११ प्रति लिटर कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ “,विज्ञप्ति जारी गर्दै निगमले भनेको छ।