नर्थ क्यारोलिना । नेपाली खेलाडीहरु पनि अमेरिकी खेलक्षेत्रमा प्रवेश गरेर राम्रो नतिजा दिन थालेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा उत्सव सिंह देखिनुभएको छ । सिंहले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा एकैसाथ दुइटा स्वर्ण पदक प्राप्त गर्नुभएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
गत हप्ता अमेरिकाको टेक्सस राज्यको उलेन सहरमा प्रोफेसनल न्याचुरल बडी विल्डिंग एसोसिएसनले आयोजना गरेको मिष्टर तथा मिस युएसए प्रतियोगितामा सहभागी सिंहले एकसाथ दुइवटा स्वर्णपदक प्राप्त गरेर सनसनीपूर्ण नतिजा दिनुभएको छ ।
उहाँले पुरुषतर्फको फिजिक क्याटागोरी र नोभिस क्याटागोरी दुवैमा स्वर्णपदक प्राप्त गर्नुभएको हो । उहाँको यो उपलब्धि नेपाल र नेपालीका लागि गौरवको कुरा हो । अमेरिकामा संभवतः नेपाली शारीरिक सुगठन खेलाडीले प्राप्त गरेको यो स्वर्णपदक पहिलो हो । यो उपलब्धि सँगसँगै अब उहाँ व्यावसायिक खेल खेल्नका लागि योग्य पनि हुनुभएको छ । यसलाई पनि उहाँले ठूलो उपलब्धिका रुपमा लिनुभएको छ । ‘कुनै पनि खेलाडीका लागि प्रो कार्ड पाउनु अन्तिम लक्ष्य हो’उहाँले भन्नुभयो । करिब दुइ वर्ष अघि बाल्टिमोरमा सम्पन्न मेन्स फिजिक क्याटागोरीमा पनि सिंहले स्वर्णपदक प्राप्त गर्नुभएको थियो । अमेरिकामा यो उहाँको पहिलो सहभागिता हो ।
३४ वर्षीय अविवाहित सिंहले ‘यो नतिजााबाट आफू निकै खुसी भएको र यो सन्देश सबै नेपालीसँग बाँड्न चाहेको’ प्रतिक्रिया दिनुभयो । बुटबल स्थायी घर भई करिब सात वर्षदेखि अमेरिकाको टेक्सस राज्यमा परिवारका साथ बसोवास गर्र्दै आउनुभएका सिंहले नेपालमा हुँदादेखि नै ७५ केजी तौल समूहमा शारीरिक सुगठनका थुप्रै प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो र त्यो पेसालाई अमेरिका आएर पनि अपनाइरहनुभएको छ ।
यसैबीच, उत्सव सिंह सुगठित शरीर हुनेहरुका लागि अमेरिकाको प्रसिद्ध पत्रिका मिष्टर हेल्थ एण्ड फिटनेसको कभर पेजमा आउने लगभग पक्का भएको छ । हालसम्म उहाँको वरियता दोस्रो छ । मतबाटै यसको निक्र्योल हुने भएकोले उहाँले अमेरिकामा रहेबसेका सबै नेपाली दाजुभाइ दिदीबहिनीसँग मतको अपेक्षा पनि गर्नुभएको छ । ‘तपाईहरुको सहयोगले म यो पत्रिकाको अग्रपृष्ठमा पुग्नसक्छु भन्ने अपेक्षा छ’ उहाँले भन्नुभयो । उक्त पत्रिकाको अग्रपृष्ठमा तस्वीर प्रकाशित भएको खण्डमा २० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । मतदानमा सहभागी हुनका लागि जुलाई १५ अर्थात् विहीवारसम्म मतदान गरिसक्नुपर्नेछ ।
‘म यो पत्रिकामा आउन सफल भएँ भने यसबाट प्राप्त रकममध्ये केही रकम बाढीपीडितका लागि, केही रकम अनाथालय र केही रकम बृद्धाश्रमलाई प्रदान गर्नेछ’ु उहाँले भन्नुभयो ।

