काठमाडौँ, जिल्ला प्रशासन कार्यलयले जारी राखेको निषेधाज्ञा साउन १० गतेसम्म थप गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँबाट जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय लम्ब्याइएको हो । निषेधाज्ञा साउन १० गते राति १२ बजेसम्म जारी रहनेछ ।
थपिएको निषेधाज्ञामा यसअघि कै नियम लागु हुनेछ। होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ । कोठा प्रत्येक दिन अनिवार्यरूपमा निसङ्क्रमण गर्नुपर्नेछ ।
यस्तै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल साँझ ७ बजेसम्म खोल्न पाइने छ ।
यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसल साँझ ७ बजेसम्म खोल्न पाइने छ।


