काठमाडौँ – क्षमता भएर मात्रै कहाँ हुँदो रहेछ र ? क्षमतामा कृपा पनि जोडिनुपर्ने रहेछ । टोक्यो ओलिम्पिक २०२० का लागि छानिई छनौट प्रतियोगिता जितेर पनि खेल्न नपाएका धावक गोपीचन्द्र पार्की पछिल्ला उदाहरण मात्रै हुन् । नेपालका अब्बल खेलाडीहरू छनौट भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका घटनाहरू थुप्रै छन् । छनौट प्रतिस्पर्धाबाट छानिएर आठ महिना लामो कडा प्रशिक्षण गरे पनि गोपीचन्द्र पार्कीले ओलिम्पिक्स खेल्न पाएनन् । पार्कीको जस्तो जानै नपाउने मात्रै होइन, नेपाली खेलाडीहरू विदेशी भूमि र खेल मैदानबाटै लज्जित भएर फर्कन परेको धेरै उदाहरण छन् । कतिपय खेलाडीहरूले त्यो दुःखबाट गुज्रिएपछि खेल्न नै छोडेका उदाहरण पनि छन् । यस्ता घटनाहरूमा कारण जे जस्तो भए पनि खेलाडीहरूलाई ललाइफकाइ गरेर विषय सामान्यीकरण गर्ने बानी पदाधिकारीहरूमा परिसकेको खेलाडीहरू बताउँछन् ।
सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका बेला पनि त्यस्तै भयो । करातेबाट १५ खेलाडीको छनौट गरेर बन्द प्रशिक्षण थाइल्यान्ड पठाइयो । तर, पाँच जना खेलाडी अन्तिम अवस्थामा हटाइयो र एक महिना बैंककमा प्रशिक्षण लिएका खेलाडीहरू काठमाडौं फर्किए । ती पाँचमध्येका एक खेलाडी मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘ढाका उड्ने बेलामा हामीलाई भनियो कि तिमीहरूको कोटा काटिएको छ, अब खेल्न पाउँदैन । हामी रुँदै नेपाल फर्कियौँ ।’ त्यो घटनाले खेलाडीहरू यति दुःखी भए कि कति खेलाडीले खेल नै छोडे । श्रेष्ठले भने, ‘त्यसलाई ‘इख’ को रूपमा लिए र १३औँ दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण पदक जिते ।’
सोही खेलकुदका लागि छानिएका बक्सिङका दीपक महर्जनमाथि पनि त्यस्तै घटना दोहोरियो । आयोजकले तौल हटाइएको भन्दै उनलाई पनि थाइल्यान्डबाटै नेपाल फर्कायो । पछि उनले चीनको ग्वाङझाउमा भएको १६औँ एसियाली खेलकुदमा नेपालका लागि कांस्य पदक जिते ।
सन् २०१४ मा दक्षिण कोरियामा भएको १७औँ एसियाली खेलकुदको घटना त झन् दुःखद थियो । कराते टोलीको बन्द प्रशिक्षण जापानमा राखिएको थियो । जापानबाटै खेलाडीहरू दक्षिण कोरिया पुगे । तर, त्यहाँ पुगेर दुई जना खेलाडीहरू गंगा अधिकारी र चञ्चला दनुवारले खेल्न पाएनन् । उनीहरूको स्थानमा नेपाल ओलिम्पिक कमिटीले अर्कै दुई खेलाडीको नाम पठाएको थियो । त्यति बेला नेपाल कराते महासंघ राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय मान्यता गरी दुई चिरामा विभक्त थियो ।
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी छनोट राष्ट्रले गर्ने गर्छ । एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगितामा त राष्ट्रिय खेलकुद परिषद्ले छुट्टै छनौट समिति नै गठन गरेको हुन्छ । तर, त्यति बेला अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघले आफ्नै ढंगले खेलाडी दक्षिण कोरिया लगेको थियो । खेल स्थलमा पुगेपछि मात्र यो विषय सार्वजनिक भयो । गंगा र चञ्चलाले खेल्न पाएनन् । उनीहरूको स्थानमा अनुपमा थापा मगर र विमला तामाङले प्रतिस्पर्धा गरे । कराते खेलाडी चञ्चला दनुवार मैदानमा पुगेर पनि खेल्न पाइनन् ।
मैदानमा एकै देशका दुई टोली पुग्दा देशकै बेइज्जत त भयो नै, घर झगडा अन्तर्राष्ट्रिय रूपमा समेत छरपस्ट भयो । त्यहाँ पुगेर खेल्न नपाएका खेलाडी दनुवारको पीडा त अझ दोहोरो थियो । उनको स्थानमा खेलेकी विमलाले कांस्य पदक जितिन्, जुन नेपालले सो प्रतियोगितामा जितेको एक मात्र पदक थियो । चञ्चलालाई आफूले जित्ने पदक अरूले खोसेको जस्तो महसुस भयो । खेलमा हुने राजनीतिक झेलको सिकार छन् उनीहरू ।
एक त खेल्न नपाउनुको पीडा त्यसमाथि पदक जित्दा पाउने उपलब्धि मानसम्मान सबै गुमेको चोट लिएर उनी नेपाल फर्किइन् । दनुवारले भनिन्, ‘त्यो क्षण जीवनभर बिर्सिन सक्दिनँ । आफूले खेल्नुपर्ने खेल अरूले खेलेको टुलुटुलु हेर्नुपर्दा मलाई के भयो होला ।’ कोरियाबाट फर्केपछि दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी अधिकारीले सक्रिय खेल जीवन नै त्यागिदिइन् । खेल जीवन जारी राखेकी दनुवारले भने १३औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितिन् ।
नेपाली खेलकुदमा एउटा भनाइ नै छ विमानस्थल पुगेर विमानमा नउडुन्जेलसम्म सहभागिता निश्चित हुँदैन । कोरियाको घटना त त्योभन्दा पनि डरलाग्दो थियो । यस्तो घटना हुनुको प्रमुख कारण खेलकुदमा हुने राजनीतिलाई मानिन्छ । संघका पदाधिकारीहरू बीचको झगडा, राजनीतिक स्वार्थ र खेल शक्ति निकायहरूको संघर्षले यस्ता घटना दोहोरिने गरेको देखिन्छ । नेपाल ओलिम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीच बेलाबेलामा हुने झगडा नौलो विषय होइन । स्वार्थ पूर्ति गर्नकै निम्ति एउटै प्रकृतिको दुई खेल संघ गठनको विवाद अझै कतिपय खेलमा छ ।
संघका पदाधिकारीहरू बिचको मनमुटावले पनि बेलाबेलामा समस्या देखिँदै आएको छ । यी समस्यामा भने अन्ततः खेलाडीहरू पीडित हुँदै आएका छन् । खेलाडीहरूको मिहिनेत, उनीहरूको प्रतिभा र आत्मसम्मानको राजनीतिका अगाडि गौण बन्ने गरेको बताउँछन् एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशील नरसिंह राणा । उनले भने, ‘आफ्नो स्वार्थका लागि उनीहरू जे पनि गर्ने गरेको देखिन्छ । खेलाडीहरूको बारेमा सोच्ने फुर्सत उनीहरूलाई कहाँ छ र ।’
योग्य खेलाडीहरू खेल्नबाट वञ्चित हुनाका अन्य कारणहरू पनि हुने गरेको छ । नेपाली खेलकुदमा खेलाडीहरूले स्पष्ट बुझेको पहिलो कारण के हो भने बजेटको व्यवस्था गर्न नसक्ने भएपछि अधिकांश खेल संघले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता नै जनाउँदैन । कतिपय खेलमा खेलाडी त छनौट भएर पनि ‘बजेट अभाव’ कै कारण खेल्न पाउँदैनन् । कतिपय खेलाडीहरूले भने आफ्नै निजी खर्चमा खेल्न बाध्य भएका छन् । त्यसो गरिँदा अब्बल खेलाडीले अवसर गुम्ने र औसत खेलाडीले मौका पाउने गरेको छ । अधिकांश संघहरूमा भने मनपर्ने खेलाडीलाई ध्यान दिँदा वा मन नपर्ने खेलाडीहरूलाई पन्छाउने क्रममा योग्य खेलाडीहरू खेल्नबाट वञ्चित हुने गरेको छ ।
पदाधिकारीहरूले आफूलाई मन पर्ने एउटा तौल वा इभेन्ट छान्दा राम्रा खेलाडीहरू खेल्नबाट वञ्चित हुने गर्छन् । अझ रोचक विषय के हो भने नेपालमा पदाधिकारी मात्र होइन प्रशिक्षक र खेलाडीसमेत यो दौडमा सामेल छन् । १३औँ सागमा पनि खेल हुनु अन्तिम समयसम्म कतिपय खेलका खेलाडीहरू कुन तौलबाट खेल्ने निश्चित थिएन । कतिपय खेलाडीहरू आफू खेल्न पाउँ भनी फाइल बोकेर राखेप वा मन्त्रालय चाहर्नेसमेत गर्छन् । जस्तो घटना भए पनि खेलाडीहरूलाई दुई÷चार दिन ललाइफकाइ गरेर विषय सामान्यीकरण गर्ने बानी पदाधिकारीहरूमा परिसकेको खेलाडीहरूको गुनासो छ ।
सन् २०१० ढाका जान नपाएपछि आफूहरूलाई पनि झुटो आश्वासन दिएर फकाएको कराते खेलाडी श्रेष्ठको अनुभव छ । उनले भने, ‘खेल्न वञ्चित भएपछि तत्कालीन राखेप सदस्यसचिव हरि चौधरीले हामीलाई त्यसलगत्तै चीनको ग्वाङझाउमा हुने एसियाली खेलकुदमा सहभागिता गराउने वाचा गर्नुभयो । हामी पनि फुरुंग भयौँ तर हामीलाई त्यहाँ पनि लगिएन ।’ टोक्यो ओलिम्पिक छुटेपछि पार्कीलाई पनि त्यस्तै आश्वासन दिएको उनले बताए, ‘सबै सरहरूले अबको राम्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पठाउने भन्नुभएको छ ।’
तर नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलिम्पिक खेलाडीहरूको लागि गरिएको पत्रकार सम्मेलनमा भनिसकेका छन्, ‘हामीले केही वाचा गरेका छैनौँ । उनलाई सान्त्वना मात्र दिएका हौँ ।’ यद्यपि यति धेरै घटना भइसक्दा पनि विगतबाट पाठ सिकेर खेलाडी सहभागिता सुनिश्चित गर्नेतर्फ भने सम्बन्धित निकायहरूले कदम चालेको छैन । उदाहरणका लागि कोरिया काण्ड भएको सात वर्ष बितिसक्दा पनि नेपाल कराते महासंघको विवाद समाधान भएको छैन । यस्तै घटना फेरि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरिन सक्ने सम्भावना कायम नै छ । (बिबिसी रिपोर्टका आधारमा सौर्य दैनिकले प्रकाशित गरेको लेख)

