काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन्।
देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता समेत भैसकेको छ। कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। कार्यसूचीमा देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको बताइएको छ।
देउवाले विश्वासको मत लिने भएसँगै नेकपा एमाले माधव नेपाल पक्षको बैठक पनि बसेको छ। देउवालाई विश्वासको मत दिने अथवा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बसेको हो।
देउवाले विश्वासको मत पाउने सम्भावना कति ?
नेकपा एमालेको माधवकुमार नेपाल पक्षसहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले सम्मिलित गठबन्धनका सबैले देउवाको पक्षमा मतदान गरे देउवाले सहजै विश्वासको मत प्राप्त गर्नेछन्।
नेपाली कांग्रेससंग ६३ सांसद छन्। तर देउवालाई ६१ ले मात्र देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार निलम्बित अवस्थामा रहेको र मोहम्मद अफताफ आलम जेलमा रहेको कारण मत दिन पाउँदैनन्।
त्यस्तै गठवन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका ४८ सांसदको देउवालाई समर्थन रहने छ। जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १७ सांसद रहेको बताइन्छ। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेल पनि देउवाको पक्षमा रहेकी छन्। यस्तै स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामाले पनि देउवालाई विश्वासको मत दिन सक्ने सम्भावना रहेको छ। पछिल्लो समय उनी माओवादी निकट छन्।
देउवाका लागि प्रतिनिधि सभाबाट विश्वासको मत हासिल गर्न १३६ मत आवश्यक छ। माओवादी, जसपा, स्वतन्त्र, जनमोर्चा र स्वतन्त्र सांसद जोड्दा देउवाले प्राप्त गर्न सक्ने मत १ सय २८ हुन आउँछ।
त्यस्तो भएको खण्डमा देउवालाई विश्वासको मत प्राप्त गर्न ८ मत आवश्यक पर्नेछ। माधव नेपाल पक्षका पूरा सांसदले मत नदिएपनि मात्र ८ सांसदले मत दिएको खण्डमा देउवाले विश्वासको मत प्राप्त गर्नेछन्। माधव नेपाल पक्षसंग २३ सांसद रहेको बताइन्छ।

