नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको निर्णयविरीत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका सांसद दलको बैठकमा अनुस्थित भई प्रधानमन्त्रीका समर्थनमा देखिएपछि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो ।
सर्वाेच्च अदालतको गत असार २८ गतेको फैसलाबमोजिम प्रतिनिधिसभाको पुनःस्थापना भएपछि राजनीतिक गतिविधि बढेको हो । गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमतिबमोजिम नेता नेपाल अघि बढ्न नचाहेको ठहर आफूहरुले गरेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गरेका छन् । स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहेका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन आफूहरुसमेतको सहभागितामा सर्वाेच्च अदालतमा रिट निवेदन दिइएकामा गत असार २८ गते पुन ःस्थापना हुने फैसला भएकाले प्रतिनिधिसभालाई जोगाउन लाग्नुपर्ने जनाएका हुन् ।
नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारलाई प्रतिनिधिसभाको बाँकी कार्यकाल सञ्चालन हुन दिनुपर्ने अन्यथा मुलुकको स्थिति सङ्कटग्रस्त हुने विज्ञप्तिमा जनाइएको छ ।
नेता खनाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितको २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन गर्दै आएका छन् । नेता खनालले वैचारिक र राजनीतिक एकतासहित गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमति बमोजिम विधिपूर्वक एमालेलाई एकताबद्ध बनाउन पनि उनले आह्वान गरेका छन् । एमालेले संस्थागतरुपमा संसद्मा प्रतिपक्षमा रहने निर्णय गरिसकेको छ ।

