काठमाडौँ – नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने एमाले सांसदहरुको आलोचना गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेकै नेताहरुले विश्वासको मत दिएपछि एक पत्रिकाका लागि लेख लेख्दै थापाले देउवालाई विश्वासको मत दिने सांसदहरुको आलोचना गरेका हुन्।
प्रतिगमनको तथाकथित नक्कली बहानाबाजी गरेर माधव नेपाल पक्षका सांसदहरुले ‘देउवा दास’ बन्ने कार्य गरेको थापाको भनाई छ। नेकपा एमालेबाट निर्वाचनमा सहभागी भई नेपाली कांग्रेसलाई समर्थन गर्ने सांसदहरुले सूर्य चिन्हमा भोट माग्ने नैतिक अधिकार गुमाएको पनि थापाले दावी गरेका छन्।
“एउटा सभ्य र सुसंस्कृत राजनीतिक दलभित्र यसप्रकारको प्रवृत्तिलाई अनैतिक र आपराधिक कार्यबाहेक अरू केही भन्न सकिँदैन। अझ प्रतिगमनको तथाकथित नक्कली बहानाबाजी गरेर आफंै बसेको ‘हाँगो ताछेका कालीदास’हरू अन्ततः अब ‘देउवा दास’का रूपमा स्थापित, कलंकित र बदनाम भएका छन्। तिनीहरू नेकपा एमाले र सूर्य चिन्हको पक्षमा भोट माग्न भविष्यमा जनतामा जानसमेत अयोग्य र अनैतिक सावित भइसकेका छन्।”,थापाले लेख लेख्दै भनेका छन्।
त्यस्तै थापाले देउवालाई समर्थन गर्ने एमालेका सांसदहरुलाई हरामी गुटको संज्ञा पनि दिएका छन्। आफ्नो लेख शेयर गर्दै थापाले ट्वीटरमा केहि टिप्पणी समेत गरेका छन्। र त्यसक्रममा उनले देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई हरामी गुटको संज्ञा दिएका हुन्।
थापा ट्वीट गर्दै भन्छन्,”२०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो । काङ्ग्रेस ६१, माके ४९, जसपा३२, हरामी गुट२२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ !”