एजेन्सी – गत विश्वकपमा इटाली छनोट हुन सकेन। चार पटक विश्वकप जितिसकेको इटाली छनौट चरणबाटै बाहिरिएको थियो। इटाली विश्वकप छनौट चरणबाटै बाहिरिन्छ भने सायदै कसैले सोचेका थिए होला। तैपनि इटाली विश्वकपमा छनौट नभई बाहिरियो।
ब्राजिल र जर्मनीपछि सर्वाधिक चारपटक विश्वकप उपाधि जित्ने कुनै देश छ भने त्यो इटाली हो। फुटबल पावरहाउस मानिने इटाली विश्वकप छनौटबाटै बाहिरिएको देखेर पूरा विश्वनै छक्क परेको थियो ।
इटाली विश्वकप छनौट हुनबाट बन्चित भएको ४ वर्ष पूरा हुने क्रममा छ। तर यस बीचमा इटालीले फुटबलमा जुन प्रगति गरेको छ, त्यसलाई सायदै सामान्य मान्न सकिन्छ।
इटाली गएको ३४ खेल देखि अपराजित छ। लगातार ३४ खेलमा अपराजित रहँदा सम्म आइपुग्दा इटाली युरोपियन च्याम्पियन बनिसकेको छ। इटालीले युरोपियन च्याम्पियनशिपको फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो।
यस्तो अवस्था सम्म आइपुग्दा इटालीको सफलतामा प्रशिक्षक रोबर्टो मान्सिनीको भूमिका महत्वपूर्ण रह्यो। रसिया विश्वकपमा छनोट नभएको इटालीले तीन वर्षभित्र उनले युरोकप २०२०को च्याम्पियन बनाए।
उनै प्रशिक्षक मान्सिनी युरोकपमा सबै भन्दा बढी स्पेन विरुद्धको खेल सम्झिन्छन्। उनका अनुसार स्पेनले धेरै नै राम्रो खेलेको थियो। स्पेनले इटाली विरुद्ध जुन स्तरको खेल प्रदर्शन गरेको थियो, त्यसले आफूलाई चकित नै पारेको उनी बताउँछन्।
स्पेनको टोली धेरै नै बलियो देखिएको उनको भनाई छ। आउने विश्वकपमा स्पेन एक प्रमुख दाबेदारको रुपमा रहने दावी पनि उनी गर्छन्। स्पेनसँग युवा खेलाडी धेरै रहेपनि उनीहरु अनुभवी रहेको मान्सिनी मान्छन्।
इटाली र स्पेन बीच युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा भेट भएको थियो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो। इटालीले स्पेनलाई ४-२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
टाइब्रेकरमा हार बेहोरेपनि उक्त खेलमा स्पेनले आफ्नो स्तर प्रदर्शन गरेको थियो। इटालीले खेलभर ३ सय ८७ पास खेल्दा स्पेनले ९ सय ८ पास खेलेको थियो। यस हिसाबले बलमा स्पेनको ७१ प्रतिशत पकड थियो। स्पेनसँग भरपर्दो स्ट्राइकरको कमी रहेका कारण खेल हार्न परेको फुटबल विश्लेषकहरु बताउँछन्।
इटाली प्रशिक्षक मान्सिनीका अनुसार आउँदो विश्वकप इटाली र स्पेन मध्ये एकले जित्ने अनुमान गर्छन्। उनका अनुसार विश्वकप फाइनल इटाली भर्सेस स्पेन अथवा स्पेन भर्सेस अर्को टीम पर्ने सम्भावना छ।
“स्पेनसँग धेरै राम्रो टोली छ। स्पेन कस्तो टोली हो भन्ने आउने विश्वकपमा देखिनेछ। विश्वकपका लागि कि हामी र स्पेन भिड्नेछौँ, कि स्पेन र अर्को टीम भिड्नेछ।”,मान्सिनी भन्छन्।

