नयाँ सिजन सुरु हुनु अघिसम्म पनि युभेन्टसमा एस् स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको भविष्य सबैभन्दा ठूलो समस्या बनिरहेको छ। क्लब र पोर्चुगिज कप्तान बीच अझ एक सिजनको लागि सम्झौता बाँकी रहेको छ तर यदि रोनाल्डोले क्लब छाड्न चाहेको खण्डमा युभेलाई रोनाल्डोको उक्त निर्णय पनि स्वीकार्य हुने देखिन्छ।

तर ३६ वर्षीय स्ट्राइकरले आफ्नो सम्झौता अन्त्य नहुँदासम्म क्लबमै बस्ने निर्णय गरेता पनि युभेले केहि गर्न सक्ने स्थिति छैन। रोनाल्डोको पारश्रमिकको कारण युरोपका केहि क्लबहरुले मात्र रोनाल्डोलाई भित्र्याउन सक्छन्। यसअघि पीएसजी र म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्ने चर्चा चलेको भएपनि हाल भने त्यो स्थति देखिँदैन।

अहिलेको समयमा ५ पटकका ब्यालुन डी ओर विजेताले क्लब छाड्ने भन्दा पनि इटाली मै बस्ने सम्भावना उच्च रहेको छ। तर इटालियन आउटलेट क्याल्सियोमर्सेटोका अनुसार रोनाल्डो प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जान सक्ने बताइएको छ। ह्यारी केन, एर्लिंग हालाण्ड जस्ता खेलाडीसँगको डिल अगाडी नबढेको अवस्थामा सिटीले रोनाल्डोलाई अनुबन्ध गर्ने सम्भावना रहेको बुझिएको छ।

गत सिजन स्टार स्ट्राइकर सर्जियो अगुएरोलाई गुमाएको सिटीले अहिलेसम्म कुनै स्ट्राइकर भित्र्याउन सफल भएको छैन। यो ट्रान्सफर निकै कठिन देखिएता पनि हुनै नसक्ने पनि भन्न नमिल्ने केहि रिपोर्टसले बताएका छन्।

