देउवाको रणनीति : नेताहरूलाई पद दिएर सभापति पुनः पड्काउने !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनकेन्द्रित भएर आफूनिकटका नेताहरुको व्यवस्थापनमा लागेका छन् । कांग्रेसमा पदका आकांक्षी धेरै देखिएपछि उनले आफूनिकटका नेताहरुको व्यवस्थापन थालेका हुन् । आगामी महाधिवेशनमा संस्थापन पक्षबाट पदाधिकारीका आकांक्षी धेरै देखिएका छन् । सबैभन्दा धेरै महामन्त्री पदका आकांक्षी छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

महामन्त्रीका आकांक्षीमध्ये दुई जनालाई प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा व्यवस्थापन गरेका छन् । उनले बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाएका छन् । आफूले प्रधानमन्त्रीको शपथ लिएकै दिन देउवाले खाणलाई गृहमन्त्री र कार्कीलाई कानुन, न्याय तथा संघीय मामिलामन्त्री बनाएका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाण गृहमन्त्री भएपछि त्यो जिम्मेवारी देउवाले मीन विश्वकर्मालाई दिने तयारी गरेका छन् । विश्वकर्मा चाँडै नै प्रमुख सचेतक बन्ने कांग्रेस स्रोतले जनायो ।

केन्द्रीय सदस्यसमेत रहेका समानुपातिक सांसद विश्वकर्माले महाधिवेशनमा कुन पदमा प्रतिस्पर्धा गर्ने भनेर नखुलाए पनि उनलाई सहमहामन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ । प्रधानमन्त्री देउवाले महामन्त्रीका अन्य चार आकांक्षीमध्ये एक जनालाई प्रमुख राजनीतिक सल्लाहकारमा व्यवस्थापन गर्ने सम्भावना रहेको पनि स्रोतले बतायो । संस्थापन समूहबाट महामन्त्रीका आकांक्षी सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु एनपी साउद र रमेश लेखकमध्ये कुनै एक जनालाई सल्लाहकार बनाउने देउवाको योजना छ ।

यद्यपि, राजनीतिक सल्लाहकार बनाउने भनिएका नेताहरुले प्रधानमन्त्री देउवाको तयारीबारेमा अनभिज्ञता प्रकट गरे । ‘यसबारेमा मलाई केही जानकारी छैन,’ सहमहामन्त्री महतले भने, ‘मसँग सरसल्लाह भएको छैन ।’ साउदले पनि यसबारेमा आफूलाई जानकारी नभएको र यस दौडमा आफू नरहेको बताए । गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

उक्त कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

तर, क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण साउन १२ बाट अधिवेशन सुरु नहुने निश्चितप्रायः छ । कांग्रेस नेताहरुले उक्त कार्यतालिका फेरि संशोधन हुने सम्भावना अत्याधिक रहेको बताउँदै आएका छन् । उनीहरुका अनुसार केन्द्रीय महाधिवेशनको निर्धारित मिति यथावत राखेर अन्य तहका कार्यसमितिको अधिवेशनको मिति १० दिन पछि सारिनेछ । कांग्रेस सहमहामन्त्री डा. महतले केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राखेर तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर हुने सम्भावना रहेको बताए ।

कांग्रेसमा चुनावी प्रक्रिया घटाएर महाधिवेशन आयोजना गर्ने पनि तयारी भइरहेको छ । पार्टीको तल्लो तहका केही कार्यसमितिहरुको अधिवेशन थाती राख्ने विषयमा छलफल भइरहेको छ । कांग्रेस स्रोतले वडा, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यताका कारण पार्टीमा केही तहका अधिवेशनहरु थाती राखेर भएपनि महाधिवेशन गर्ने तयारी भइरहेको नेताहरुको भनाइ छ ।

कांग्रेसका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तह हुने गरी विधानमा व्यवस्था गरिएको छ । सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पार्टीका संरचनाहरु हुने व्यवस्था छ ।

महाधिवेशनका लागि निर्धारित मिति नजिकिँदै गए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न हुन ढिलाइ भइरहेका कारण पाँच तहका अधिवेशनहरु नगरिकनै महाधिवेशन आयोजनाका लागि तयारी भइरहेको सभापति पदका एक आकांक्षी नेताले जानकारी दिए ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८०८:५०

जहाजभन्दा पनि महंगो गाडीको भाडा, यस्तो छ यात्रुहरुको बाध्यता!