इटालियन क्लब युभेन्टसले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पीएसजीका स्टार फरवार्डको सट्टा-पट्टाको बारेमा सोचिरेको एक रिपोर्टले जनाएका छन्।
अन्तराष्ट्रिय फुटबल र च्याम्पियन्स लिग फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रोनाल्डोले गत सिजन ओल्ड लेडीका लागि ३३ सरी-ए खेलमा २९ गोल गर्न सफल भएका थिए। यसका साथै हालै सम्पन्न युरो २०२० मा पनि रोनाल्डो ५ गोलका साथ प्रतियोगिताका उच्च गोलकर्ता बन्न सफल भए।
३६ वर्षको उमेरमा पनि आफ्नो खेललाई खासै खस्कन नदिएका रोनाल्डो र पीएसजीका युवा स्टारसँग सट्टा-पट्टा गर्न युभे इच्छुक देखिएको हो। फ्रान्सेली प्रकाशन एल’क्वेपेका अनुसार ओल्ड लेडी रोनाल्डोलाई पीएसजी पठाएर फ्रेन्च क्लबबाट लामो समयको लक्ष्य मउरो इकार्डी भित्र्याउन लागि इच्छुक रहेको छ।
धेरैलाई यो डिल निकै आश्चर्य जनक लाग्न सक्छ, विशेषगरी गत सिजन इकार्डीको लागि निकै खराब रहेको कारण। उनले फ्रेन्च क्लबका लागि गत सिजन २० खेलमा मात्र ७ गोल गर्न सफल भएका थिए। यस ट्रान्सफर सफल भएको खण्डमा फुटबल जगतले एकै टिममा नेइमार, एम्बाप्पे र रोनाल्डोको दुर्लभ तथा निकै घातक आक्रमण पंक्ति देख्ने मौका मिल्नेछ।