एजेन्सी – युरोपियन च्याम्पियन्सबाट फ्रान्स बाहिरिएपछि छुट्टीमा गएका किलियन एम्बाप्पे प्रशिक्षणमा फर्किएका छन्। क्लब छाड्ने अड्कल बाजीका बीच एमबाप्पे आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण क्याम्पमा फर्किएका हुन्।
पछिल्लो केहि समय देखि एम्बाप्पेले पीएसजी छाड्ने चर्चा चलिरहेको छ। एम्बाप्पे यहि ट्रान्सफर विन्डोमै अन्यत्र जाने धेरैले अनुमान लगाइरहेका छन्। तर एम्बाप्पे भने क्लबको प्रशिक्षणमा सहभागी भएका छन्।
एम्बाप्पे शुक्रबार पीएसजीको प्रशिक्षण स्थल क्याम्प डि लोगेु ट्रेनिङ सेन्टर पुगेर प्रशिक्षण गरेको बताइएको छ। एम्बाप्पेले प्रशिक्षणका तस्विर तथा भिडियोहरु सामाजिक संजालमा पोस्ट पनि गरेका छन्।
प्रशिक्षणका क्रममा एम्बाप्पेले जर्जिनियो विज्नालडम, अच्राफ हाकिमी र सर्जियो रामोसलाई भेटेका छन्। रामोसले एम्बाप्पेसँगको एक तस्विर सार्वजनिक गरेका छन् । प्रशिक्षण क्याम्पमा खिचिएको उक्त तस्विरमा दुवै हँसिलो मुद्रामा देखिएका छन् ।
सन् २०१७ मा मोनाकोबाट आएका एम्बाप्पेको सम्झौता थप गर्न पीएसजीले लगातार दबाव दिरहेको छ। केहि समय अगाडी मात्र क्लबका अध्यक्ष नासिर अल खेलाफीले एमबाप्पे क्लबमा रहने मात्रै नभई सम्झौता नविकरण गर्ने विश्वास व्यक्त गरेका थिए। तर एम्बाप्पे भने सम्झौता थप नगरी प्रशिक्षणमा सहभागी भएका छन्।