काठमाडौँ – यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै नै तनावमा छन्। मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा देउवा रहँदा उनले मन्त्रीहरुको नाम टुंगो समेत लगाउन सकेका छन्। पार्टीका धेरै नेताहरुले मन्त्री बन्न रस्साकसी गरेपछि प्रचण्डलाई पर्नु पिर परेको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा क्रममा प्रचण्डले आफू ठूलो समस्यामा परेको सुनाए। पार्टीका धेरै जस्तो सांसदले मन्त्री बन्ने चाहना राखेपछि आफू समस्यामा परेको प्रचण्डले बताए।
प्रचण्डले भने,”म त अहिले मन्त्री बन्ने म कहाँ दबाव दिन आउनेहरुको हुल भित्रबाट आएको छु। आ’तंक छ मेरो दिमागमा। कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने?”
माओवादी केन्द्रले बढीमा ७ मन्त्रालय पाउने भएपनि सबै सांसदले मन्त्री बन्न खोजिरहेकाले समस्या पैदा भएको प्रचण्डको भनाई छ। आफूलाई अहिले ठूलो मानसिक तनाव रहेको पनि प्रचण्डले बताए।
“हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री पद चाहिएको छ।”,प्रचण्डले भने,”हामीले पाए बढीमा ७ मन्त्रालय हो। मन्त्री हुन पाइएन भन्ने नेतृत्व सरापेर हिड्ने प्रवृति जबर्जस्त छ।”
नियुक्ति नपाएको खण्डमा नेताहरु नेतृत्व काम नलाग्ने भयो भन्दै हिड्ने गरेको भन्दै प्रचण्डले दुखेसो गरे। उनले भने,”चार-पाँच दिन देखि म एक प्रकारको मानसिक तनाव भित्र छु। मनमा त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो लाग्छ नि, त्यो त हुँदैन नि”

