एजेन्सी – फ्रान्सेली फुटबलर पल पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता थप नगर्ने पक्का जस्तै भएको छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार पोग्बाले सम्झौता थप नगर्ने विषयमा क्लबलाई स्पष्ट पारिसकेका छन्।
पोग्बाले सम्झौता थप नगर्ने भएपछि पोग्बालाई बिर्की गर्न म्यानचेस्टर युनाइटेड आतुर देखिएको छ। आउने वर्ष सम्मका लागि मात्र पोग्बाको सम्झौता छ। यहि कारणले गर्दा युनाइटेड पोग्बालाई अहिले नै बिक्री गर्न चाहन्छ।
पोग्बा माथि विभिन्न क्लबहरुले नजर पनि लगाएका छन्। सबै भन्दा पहिला बार्सिलोनाले पोग्बा माथि नजर राखेको खबर आएको थियो। बताइएअनुसार, बार्सिलोना युनाइटेडसँग सट्टा-पट्टा गर्न चाहन्थ्यो। क्लबका कुनै पनि खेलाडी युनाइटेड पठाएर केहि रकम थप गरी पोग्बालाई भित्र्याउने उसको योजना थियो।
तर केहि समयमै पोग्बा भित्र्याउने दौडमा पेरिस सेन्ट जर्मन(पीएसजी)को इन्ट्री भएको थियो। पीएसजी अहिले ट्रान्सफर बजारमा आक्रामक देखिएको छ। केहि केहि समय अगाडी मात्रै पीएसजीले जर्जिन्हो विज्नल्डमलाई हाइज्याक गरेको थियो। बार्सिलोना भन्दा बढी पारिश्रमिक दिने भएपछि जर्जिन्हो विज्नल्डम पीएसजी गएका थिए। त्यस्तै पीएसजीले लियोनका मेम्फिस डिपेलाई पनि हाइज्याक गर्ने प्रयास गरेको थियो। तर त्यसमा भने पीएसजी सफल भएको थिएन।
अहिले आएर पोग्बाको मामलामा पीएसजी बार्सिलोना भन्दा एक कदम अगाडी रहने देखिएको छ। उसले पोग्बा पक्षसँग र क्लब पक्षसँग एक साथ छलफल अगाडी बढाइसकेको छ। पीएसजी पोग्बाका लागि युनाइटेडलाई ४३ मिलियन पाउण्ड सम्म तिर्न तयार रहेको बताइन्छ।