एजेन्सी – युवा स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पीएसजी)सँगको सम्झौता थप नगर्ने भएका छन्। एम्बाप्पेले क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनो सम्झौता थप नगर्ने स्पष्ट पारेका हुन्।
एम्बाप्पेको सम्झौता सन् २०२२ मा सकिँदैछ। गएको केहि महिना देखि उनलाई क्लबले सम्झौता थप गर्न दबाव दिरहेको छ। क्लबका अध्यक्ष नासिर अल खेलाइफीले सार्वजनिक रुपमै एम्बाप्पेलाई अन्यत्र जान नदिइने र एम्बाप्पेको फ्री ट्रान्सफर पनि नहुने बताइसकेपनि एम्बाप्पेले सम्झौता थप नगर्ने भएका हुन्।
युरोपियन च्याम्पियनशिप पश्चात छुट्टि मनाएर एम्बाप्पे प्रशिक्षणमा समेत सामेल भइसकेका छन्। स्थिति फेरिएको अवस्थामा समेत एम्बाप्पे सम्झौता थप्न तयार नभएको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।
एम्बाप्पेले पोचेटिनोलाई सम्झौता थप नगर्ने स्पष्ट पारेसँगै उनी सम्झौता रहेसम्म क्लबमै रहने पक्का जस्तै भएको छ। क्लबका लागि रहेको सम्मानका कारण आफू सम्झौता नसकिएसम्म क्लबमै रहने र सम्झौता पनि थप नगर्ने एम्बाप्पेको निर्णय रहेको छ।
रियललाई फाइदा
एम्बाप्पे रियल म्याड्रिड जाने चर्चा कुनै नौलो होइन। धेरै लामो समय देखि उनी रियल जाने चर्चा चलिरहेको छ। रियलले विभिन्न समयमा एम्बाप्पेलाई अनुबन्ध गर्ने प्रयास समेत गरिसकेको छ। जुन अहिले सम्म सफल हुन सकेको छैन। त्यसपछाडी आर्थिक पक्ष मूख्य कारण रहेको छ। एम्बाप्पेका लागि ठूलो रकम माग भएका कारण रियल ब्याक भएको बताइन्छ।
तर एम्बाप्पेको पछिल्लो निर्णयलाई हेर्ने हो भने त्यसले सबै भन्दा बढी फाइदा रियललाई पुर्याउने देखिन्छ। एम्बाप्पे सम्झौता नसकिएसम्म पीएसजीमै बसेको खण्डमा उनी फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन्। जसको पर्खाइमा रियल देखिन्छ। त्यस्तो हुने हो भने रियलले ठूलो धनराशि जोगाउनेछ।