काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। शनिबार पाँच दलको गठबन्धन बसेपश्चात देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन्।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर छलफल भएको थियो।
शनिबारको बैठक पश्चात देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेको बताइएको छ। सरकार गठन भएको हप्तौं बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ।
नेपाली कांग्रेस श्रोतका अनुसार देउवाले सबै भन्दा पहिला स्वास्थ्यमन्त्री चयन गर्ने तयारी गरिरहेका छन्। साथै परराष्ट्रमन्त्री समेत नियुक्त गर्ने उनको तयारी रहेको छ।
अन्य मन्त्रालयमा गठवन्धन बीच सहमति नजुटेपनि तत्कालका लागि स्वास्थ्यमन्त्रालय र परराष्ट्र मन्त्रालयको टुंगो लगाउने देउवाको तयारी रहेको छ।

