म्याड्रिड आधारित अखबार मार्काका अनुसार अर्जेन्टिनी स्टार लियोनल मेस्सी आफ्नो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन् र उनी फुटबलको उच्च स्तरमा खेल्दा अरु कुनै खेलाडीले ब्यालुन डी ओर जित्नु मेस्सीको अन्याय हुने बताएको छ।
फुटबल जगतको सबैभन्दा प्रतिष्ठित मानिने व्यक्तिगत अवार्ड ब्यालुन डी ओर अवार्ड मेस्सीले ६ पटक जितिसकेका छन्। उनी २०२१ को ब्यालुन डी ओर जित्न पनि प्रमुख दाबेदार रहेका छन्। गत सिजन बार्सिलोनाको प्रदर्शन त्यति राम्रो नभएता पनि मेस्सीको प्रदर्शन भने निकै उत्कृष्ट रहेको थियो। उनले गत सिजन लालिगामा ३० गोल गर्दै लिगको उच्च गोलकर्ता बन्न सफल भएका थिए।
त्यस्तै, ३४ वर्षीय स्ट्राइकरको उत्कृष्ट प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्न सफल भयो। अर्जेन्टिनालाई कोपा अमेरिका २०२१ को च्याम्पियन बनाउनको लागि मेस्सीले प्रतियोगिताभर ४ गोल गर्नुका साथै ५ असिस्ट पनि प्रदान गरेका थिए। ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी प्रतियोगिताका उच्च गोलकर्ता बन्नुका साथै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए।
यस्तोमा, मार्काले “ब्यालुन डी ओर मेस्सीकै हो” भन्दै एक बलियो स्टेटमेन्ट दिएको छ। स्पेनिस प्रकाशनले यो पनि दाबी गरेको छ कि रोनाल्डो (५ पटक ब्यालुन डी ओर) मेस्सीको छ वटा ब्यालोन डी ओर जितेको नजिक आउनु मेस्सीको लागि अन्याय भएको बताएको छ।
मार्काका कनर क्लान्सीले लेखेका छन्,”अरु कुरा छोड्दिम्…… ब्यालुन डी ओर मेस्सी कै हो। जबसम्म मेस्सीले उच्च स्तरमा खेल्छन्, तबसम्म अरु कुनै पनि खेलाडीले ब्यालुन डी ओर जित्नु हुँदैन। मेस्सी आफ्नो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन्, सम्भवत फुटबल इतिहासकै….”
“रोनाल्डोले मेस्सीको जमानामा ५ ब्यालुन डी ओर जित्नु भनेको मेस्सीको लागि अन्याय हो, जो फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन्,” मार्काले लेखेको छ।