युवा उमेरमा नै अविश्वसनीय सङ्ख्यामा गोल गरिसकेका एर्लिंग हालाण्ड विश्व स्तरीय खेलाडी नभएको बोरुसियाका दिग्गजले बताएका छन्। डर्टमण्डका लागि गत सिजन निकै उत्कृष्ट प्रदर्शन गरेका हालाण्डको नाम अहिले ट्रान्सफर बजारमा निकै चर्चामा रहेको छ। उनले गत सिजन जर्मन क्लबका लागि सबै प्रतियोगितामा ४१ गोल गरेका थिए।
२१ वर्षीय नर्वेजियन खेलाडीलाई क्लबमा भित्र्याउनको लागि प्रिमियर लिग क्लब चेल्सी, म्यानचेस्टर सिटी लगायत स्पेनिस क्लब रियल म्याड्रिड जस्ता ठूला क्लब इच्छुक देखिएका छन्। तर डर्टमण्ड दिग्गज जर्गन कोलरका अनुसार हालाण्ड अझै पनि विश्व स्तरीय खेलाडी नभएको र उनमा भन्दा किलियन एम्बाप्पेसँग बढी क्षमता रहेको बताएका छन्।
युवा डर्टमण्ड स्टारको बारेमा बोल्दै कोलरले भने,” हालाण्ड अझै पनि विश्व स्तरीय खेलाडी हैनन् । उनी एक टप स्ट्राइकर हुन् र धेरै स्किल छन् तर उनले अझै धेरै सुधार गर्नुपर्छ। उनीमा केहि अतिरिक्त क्लास मिसिङ छ। २१ वर्षमा उमेरमा उनी निकै अगाडी बढिसकेका छन्। यो असाधारण हो। अनुभवसँगै उनी विश्व स्तरीय हुनेछन्।”
बोरुसिया डर्टमण्डबाट च्याम्पियन्स लिग उपाधि जितेका ५५ वर्षीय कोलरले हालाण्डलाई एम्बाप्पेसँग तुलना गर्दै विश्व विजेता हालाण्ड भन्दा बढी क्षमता भएका र विश्व स्तरीय खेलाडी रहेको बताएका छन्। “एम्बाप्पेसँग सबैभन्दा बढी क्षमता छ,” उनले थपे,”म उनलाई हालाण्ड भन्दा विश्व स्तरीय खेलाडी देख्छु किनभने उनी आफ्नो गतिमा मात्र निर्भर छैनन्।”