को हुन उमेश श्रेष्ठ ? कसरी भए राज्यमन्त्री ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवालाई २९ असारमा मन्त्रिपरिषद् गठन गर्दा नै स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने दबाब थियो । सरकारलाई समर्थन गर्ने दलहरु मात्र होइन, उनकै पार्टी नेपाली कांग्रेस र पार्टीभित्र पनि संस्थापन समूहकै नेताहरुले कोरोना महामारीविरुद्ध लडाईंको नेतृत्व गर्न सक्ने स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्रदीप गिरी, विश्वप्रकाश शर्मालगायत संस्थापन समूहका नेताहरुले पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस सांसद गगन थापाको नाम लिएका थिए ।
तर प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त गरेनन् । आफू नियुक्त भएकै दिन असार २९ गते देउवाले कांग्रेसका बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री बनाए भने माओवादी केन्द्रका जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जामन्त्री नियुक्त गरे ।
नेताहरुका अनुसार त्यसयता प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री कहिले नियुक्त गर्ने भन्ने प्रश्न झेलिरहे । कतिसम्म भने सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबण्डाका लागि गृहकार्य गर्न बनेको सात सदस्यीय कार्यदलले समेत अरु टुंग्याउँदै गरौंला, स्वास्थ्यमन्त्री चाहिं नियुक्त गरिहालौं भन्ने सुझाव दिएको थियो ।

त्यही कारण हुनुपर्छ, प्रधानमन्त्री देउवाले आइतबार पार्टीका समानुपातिक सांसद श्रेष्ठलाई राज्यमन्त्री बनाए । श्रेष्ठको छवि भने राजनीतिकर्मी कम, व्यवसायी धेरै छ । झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय उनको लिटिल एञ्जल्स, आइडिया मोडल, स्मल हेभन लगायतका विद्यालय सञ्चालनमा छन् । जलविद्युत र कृषि क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा लगानी गरेका उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पतालका ट्रस्टिज अध्यक्ष र जनमैत्री अस्पतालको सञ्चालक पनि छन् ।

कांग्रेससँग राजनीतिक साइनो भने दोस्रो संविधानसभा (२०७०) मा पार्टीको कोटाबाट मन्त्रिपरिषदबाट मनोनीत २६ संविधानसभा सदस्यमा परेपछि जोडिएको हो । तर उनको सम्बन्ध कांग्रेससँग कम, सभापति देउवासँग बढी भएको नेताहरु सुनाउँछन् । २०७४ को चुनावमा सभापति देउवाको चुनावी खर्चको खटनपटन व्यवसायी विनोद चौधरी, उमेश श्रेष्ठ र अनिल रुँगटाहरुकै हातमा थियो । ६३ सिटमा खुम्चिएको कांग्रेसले जब सरकारको नेतृत्व गर्ने अवसर पायो, त्यही समूह हावी भएको छ । यो समूहबाट एक जना मन्त्री बनाउनुपर्ने दबाबमा देउवा थिए । नेताहरुले बताएअनुसार व्यवसायी विनोद चौधरीले परराष्ट्र मन्त्रालय बन्ने रुचि देखाएका थिए । तर देउवाले स्वास्थ्य मन्त्रालयतिर देखाए, जसमा श्रेष्ठ आएका हुन् ।

स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ उत्पन्न हुने देखिएको छ । त्यसैले सामाजिक सञ्जालमा देउवाको छनोटलाई लिएर आलोचना स्वर सुनिएका छन् । पूर्व स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी व्यवसायिक व्यक्तिलाई मन्त्री बनाउँदा स्वतः स्वार्थ बाझिने बताउँछन् । ‘उहाँ एक व्यवसायिक व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिहरु मन्त्रीजस्तो सार्वजनिक पदमा आउँदा स्वार्थ बाझिने खतरा रहन्छ,’ उनले भने, ‘विश्वको अभ्यास हेर्नुभयो भने स्वार्थ बाझिने वा व्यवसायिक व्यक्तिहरु पदमा बस्दैनन् ।’
स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय दिइनु उचित नभएको उनको भनाइ छ ।

पछिल्लो समय लगानीका नयाँ क्षेत्र खोजी गरिरहेका श्रेष्ठको स्वास्थ्य क्षेत्रमा खासै रुची थिएन । तर, कोभिड– १९ का कारण आफैं अस्पतालमा थलिएपछि उनी अस्पताल निर्माण गर्न तम्सिएका हुन् । शिक्षा क्षेत्रमा जस्तै सरकारले स्वास्थ्य क्षेत्रमा पनि ठुलो लगानी गर्ने जानकारी पाएका श्रेष्ठले आगामी वर्षभित्रै कम्तिमा ५ वटा अस्पतालको चेन निर्माण गर्ने सोच बनाएका छन् । उनले पछिल्लो समयमा ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटिक अस्पताल खोलेका छन् भने जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि अस्पताल ट्रष्टको अध्यक्षता गरिरहेका छन् । उनले काठमाडौं सहित चितवन नुवाकोट लगायतका स्थानमा समेत अस्पताल निर्माण गर्ने योजना बनाएका छन् । निर्माणाधीन हेलोइस अस्पताल धनाढ्य वर्गलाई लक्षित गरी निर्माण गर्न लागिएको हो ।

हलोइसमा उच्च दक्ष जनशक्ति चिकित्सक तथा नर्स राख्ने र तिनै जनशक्तिले जनमैत्री तथा महेन्द्र नारायण निधि अस्पतालमा समेत सेवा दिने योजना बनाइएको छ । श्रेष्ठले करिब ४२ वर्ष शिक्षा क्षेत्रमा विताएका छन् । लिटल एञ्जेल विद्यालयलाई उनले एक नम्बरको विद्यालयको स्तरमा पुर्याएका थिए । उनी निजी विद्यालयको छाता संगठन प्याप्सनका अध्यक्ष समेत भएका थिए । श्रेष्ठ भोजपुर जिल्लाको एक सामान्य परिवारमा जन्मिएर सरकारी विद्यालयबाट शिक्षा लिएका थिए । सरकारी शिक्षामा गुणस्तरको अभाव देखेका श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी गर्ने सोच बनाएका थिए । भोजपुरबाट आउँदा २ हजार बोकेर काठमाडौं आएका श्रेष्ठ अहिले करिब २० अर्ब सम्पत्तिको मालिक भइसकेको बताइन्छ ।

प्रकाशित : सोमबार, साउन ११, २०७८०८:३८

हेड काउन्ट हुँदै, ठाकुर पक्षका सांसदहरुको पद धरापमा !