नेपालमा पब्जी, फ्री-फायर जस्ता अनलाइन गेम बन्द गर्नुपर्ने प्रतिनिधिसभाको आजको बैठकमा एक सांसदले माग गरेकी छिन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालमा अनलाइनको पौंच बढेता पनि पब्जी, फ्री-फायर जस्ता गेमले गर्दा बालबालिकामा नकारात्मक असर परेको सांसद आशाकुमारी वि.क.ले बताइन्।
कोरोना महामारीको कारण बालबालिका तथा किशोरकिशोरीको शिक्षा इन्टरनेट मार्फत भइरहेकोले बालबालिकाले प्राय: समय इन्टरनेटमा बिताउने र जसको कारण उनीहरुमा पब्जी र फ्री-फायर जस्ता खेलको लत लागेको उनको भनाई छ। यस्ता अनलाइन गेमको लतमा परेर कतिपय बालबालिकाको स्वभावमा नै परिवर्तन आएको पनि उनले बताइन्। बच्चाका स्वभावमा देखिएको परिवर्तनका कारण अभिभावकमा चिन्ता बढेको हुनाले तत्काल यस्ता अनलाइन गेमहरु बन्द गर्नुपर्ने उनले बताइन्।
उनले भनिन्, “कोरोना कहरले थलिएको देशको बालबालिका र किशोर-किशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ । इन्टरनेट प्रयोगकर्ता बढेको छ यो खुशीको कुरा हो । तर पब्जी, फ्री-फायर जस्ता खेलको लतमा फसेका उनीहरुमा देखिएको डराउने, झस्कने, जिद्धिपना जस्ता अनौठो बानीहरुले बच्चाहरुको स्वभावले आमा बाबुमा परेको तनावको कारण निम्तिने रोगहरुको दृश्य सामान्य लाग्ला तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएकोले तत्काल सरकारले यो अनलाइन खेलहरु बन्द गरियोस् । नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस्।”

