शिक्षामा बेथिति : एसईईको नतिजा नआई विज्ञान संकायको सिट कब्जा !

काभ्रे । एसईईको नतिजा नै प्रकाशन नभई ११ को कक्षा सुरु भइरहेको सुन्दा आश्चार्य लाग्न सक्छ, तर यो यथार्थ हो । एसईईको नतिजा आएकै छैन । तर यति बेला केही प्रतिष्ठित उच्च माध्यामिक विद्यालयहरुले राम्रा बिषयको सिटहरु भरिभराउ गरिसकेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

काठमाण्डौ विश्वविद्यालय अन्तर्गत रहेको काठमाण्डौ युनिभर्सिटी हाईयर स्कुल (केयूएचएस)मा कक्षा ११का लागि विज्ञान संकायतर्फको ७६ जनाको सिट अहिले प्याक भइसकेको छ । अब त्यस सिटमा कोही पनि विद्यार्थीले यस बर्षको एसईई नतिजा पछि चाहँदैमा पढ्न सक्ने छैनन् । किनभने त्यस स्कुलले बेभसाइटमा असारमा नै केही दिनको सूचना राखी सो कोटा पुर्ती गरी कक्षा ११का भर्चूृअल विधिबाट कक्षा सञ्चालन गरिरहेको बताएको छ ।

यस बिषयमा स्कूलका प्रधानाध्यापक तेजेन्द्रराज भण्डारीले भने – ‘त्यसरी कोटाको लागि भनेर सूचना गरी खुलाएनौँ, यतैबाट मिलायौँ । अहिले ११ र १२ लाई हुने बृजकोर्स जस्तो मात्रै गराइरहेका हौँ । जसले उनीहरुको शैक्षिक गुणस्तर बृद्धि होस् ।’ यसरी मापदण्ड मिचेर कोटा नै कब्जा गर्दा त स्वस्छ प्रतिस्पर्धा, र मेहेनेती जेहेनदार ग्रामिण विद्यार्थीको हक त खोसियो नि ? भन्ने प्रश्नमा उनी भन्छन् – ‘दुई बर्ष मात्रै भयो यस्तो भएको कोभिडले गर्दा यस्तो भएको हो ।’

यस्तै जिल्लाको अर्काे प्राइभेट कलेज निष्टमा २४० जनाको विज्ञान संकायमा कोटा भए पनि विद्यार्थीलाई हालै सम्पर्कमा बोलाएर भर्चुअल विधि मार्फत बृजकोर्स गराइने गर्दै आएको छ । त्यस बिषयमा कलेज भन्छ – ‘भर्नाका लागि एसईईको रिजल्ट त आउनुनै पर्छ तर पनि आफ्नो सिट सुरक्षित गर्नको लागि यसरी सम्पर्कमा ल्याई कक्षा सञ्चालन गरिरहेका हौँ ।’ यस्तै विद्यार्थी तान्ने होडबाजीमा बेलर स्कुल पनि लागिरहेको छ । कक्षा ११ को लागि ७० जनाको विज्ञान संकायको कोटा रहेको बेलरले भने हाल विद्यार्थीहरुलाई सम्पर्कमा ल्याउने काम मात्रै गरिरहेको र एसईईको रिजल्ट पश्चात नै शैक्षिक गतिविधि सञ्चालन गर्ने बताएको छ । स्कुल भन्छ ‘प्रवेश परिक्षा पनि हामीले एसईईको नतिजा पछि नै लिन्छौँ अहिले विद्यार्थीलाई सम्पर्कमा ल्याई उनीहरुलाई बृजकार्स जस्तो कक्षा सञ्चालनमा सहभागी मात्रै गराउने हो ।’

यता सरकारी विद्यालयकोरूपमा रहेको सञ्जिवनी कलेज धुलिखेलमा ३५ जनाको कोटा रहेको विज्ञान संकायमा भने भर्ना लिने , प्रवेश परिक्षा लिने र अन्य ११ कक्षाको शैक्षिक गतिविधि एसईईको रिजल्ट पश्चात मात्रै गरिने बताएको छ । यसरी सिट नै कब्जा गरी कक्षा सञ्चालन गरिरहेको बिषयमा शिक्षा मन्त्रालयका सहसचिव डा.तुलसी प्रसाद थपलिया भन्छन् – ‘ कुनै पनि कलेजले कुनै पनि विद्यार्थी लाई ११ कक्षामा पढाउन एसईईको नतिजा अनिवार्य रहन्छ । नतिजा आएपश्चात मात्रै सो नतिजाको आधारमा कुन बिषय पढ्न मिल्ने नमिल्ने हेरेर मात्रै कलेजले ११ कक्षाको भर्ना लिने हो । अहिले विद्यार्थी तान्ने होडबाजीले गर्दा अर्काे जेहेन्दार, मेहेनेती विद्यार्थीको अधिकार खोसिनु, नीति, विधिलाई जबरर्जस्ती कुल्चनु निश्चय नै राम्रो कुरा होइन ।’

यसरी एसईई पछिबाटै एउटा क्षमतावान् विद्यार्थीलाई आफ्नो इच्छाबाट धकेलिने काम गरिँदै आएको छ । माथिका कलेजहरुले त्यस्ता विषयहरुमा कोटा पुर्ती गर्ने बाहानामा कतिपय अवस्थामा प्रवेश परिक्षामा बार्गेनिङ गर्ने, सोही सेरोफेरोका, चिनाजानी आफन्त र नेतागीरि गर्ने, मोटा गोजी (पुँजीपति) वर्गका परिवारहरुले मात्रै अवसर प्राप्त गर्ने गर्दछन् । विद्यार्थीको क्षमताको अवमूल्यन हुने गरि सिट कब्जा भईरहेको बिषयमा सम्बन्धीत निकायले बेलैमा सोच्न जरुरी देखिन्छ ।

प्रकाशित : बुधबार, साउन १३, २०७८०८:५८

तीन दलबीच मन्त्रालय बाँडफाँड: को-को बन्दैछन् मन्त्री ? यस्तो छ नामलिस्ट !