माओवादी फर्किने बाटो खोज्दै यी चार नेता, यता न उताको भएपछि सर्वोच्चको शरणमा !

काठमाडौँ – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विवादका क्रममा केपी शर्मा ओली कित्तामा लागेर सांसद पद गुमाएका पूर्व माओवादी केन्द्रका चार नेता सर्वोच्च अदालतको शरणमा पुगेका छन्। माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार पूर्वमाओवादीका नेता बुधबार सर्वोच्च अदालतको शरणमा पुगेका हुन्।

सर्वोच्च अदालत पुग्ने नेताहरुमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन्। सर्वोच्च पुगेर नेताहरुले सांसद पद पुनर्वहालीको माग गरेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा रहने सर्वोच्चको फैसलापछि माओवादी केन्द्रमा फर्किन नमानेपछि गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले चारै नेताको सासंद पद रिक्त गरेको थियो।

सर्वाेच्च अदालतमा रिट दायर गर्दै चारै नेताले सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत रहेको दावी गरेका छन्। उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको समेत उनीहरुको दावी रहेको छ।

ओली कित्तामा पुगेका चारै नेताहरुले पछिल्लो समय ओलीबाट बेवास्ता खेप्दै आएका छन्। नेकपा एमाले भित्रै विवाद चलिरहेका कारण पूर्वमाओवादीका नेताहरु चेपुवामा परेको बताइन्छ। ओलीले सो सम्बन्धमा कुनै चासो नदिएपछि चारै नेता माओवादीमै फर्किने बाटो खोजिरहेका छन्।

प्रकाशित : बुधबार, साउन १३, २०७८१४:५३

महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’