काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ब्याट्सम्यान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा खस्किएका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान खस्किदै ९७ औं स्थानमा पुगेका छन् भने पूर्व कप्तान पारस खड्का तीन स्थान खस्किदै ९४ औं स्थानमा पुगेका छन् ।

ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ५७ छ । पारसको ३ सय ६२ रेटिङ प्वाइन्ट छ । युवा ब्याट्सम्यान कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ६० र्औ स्थानमा उक्लिएका छन् । कुशलले वेस्ट इन्डिजका निकोलस पुरन, काइरन पोलार्ड र भारतीय ऋषभ पन्त जस्ता ब्याट्सम्यानलाई पछि पारेका छन् । पुरन ६३ औ , पोलार्ड ६६ औं र पन्त ७५ औं स्थानमा छन् ।

स्पिनर सन्दीप लामिछाने चार स्थान खस्किदै ८२ औं स्थानमा पुगेका छन् । सन्दीपको ४ सय ५ रेटिङ अंक छ । तीव्र गतिका बलर सोमपाल कामी भने ९७ औं स्थानमा उक्लिएका थिए । अघिल्लो हप्ता वरीयतामा सोमपाल शीर्ष एक सयमा भने थिएनन् । सोमपालको ३ सय ५९ रेटिङ अंक छ ।

ब्याटिङको शीर्षतर्फ इंग्ल्यान्डका डेविड मलान छन् । पाकिस्तानका बाबर आजम दोस्रो, अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौ स्थाानमा यथावत छन् ।

बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी शीर्ष स्थानमा छन् । श्रीलंका स्पिनर वानिन्दु हसरंगा दोस्रो स्थानमा उक्लिदा अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा पुगेका छन् । टि२० अलराउन्डरतर्फ भने अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा यथावत छन् ।

नेपालले पछिल्लो पटक २० आई खेल टियु मैदानमा गत वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । टिम वरीयतातर्फ नेपाल २० मा १२ औं र ओडिआईमा १६ औं स्थानमा यथावत छ ।

