वर्षका सबै एकादशी तिथि महत्त्वपूर्ण हुन्छन्। यो दिन भगवान विष्णुलाई समर्पित हुन्छ। प्रत्येक महिना जस्तै साउन महिनामा पनि दुई एकादशी तिथिहरू छन् जसमध्ये एउटा कृष्णपक्षमा र अर्को शुक्लपक्षमा पर्छ। साउन महिनाको कृष्ण पक्षको एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ। चतुर्मास चलिरहेको कारण भगवान विष्णु यस अवधिमा क्षीर सागरमा सुतिरहेको अवस्थामा छन्। कामिका एकादशीको महत्व धेरै छ। यस दिन व्रत राख्नाले भक्तको हरेक मनोकामना पूरा हुनुका साथै जीवनमा गरेका अन्जान पापबाट पनि मुक्ति मिल्ने विश्वास रहेको छ। यस लेखको माध्यमबाट जान्नुहोस् यस वर्ष कुन दिन कमिका एकादशी परेको छ त ? साथै पूजाको मुहूर्त तथा विधिको बारेमा पनि जान्नुहोस्….

कमिका एकादशीको तिथि तथा मुहूर्त
कामिका एकादशीको उपवास बुधवार, साउन २० गते राखिनेछ। यस वर्ष कामिका एकादशीको उपवास सर्वार्थ सिद्धि योगमा राखिनेछ।
एकादशी तिथि प्रारम्भ: साउन १९ गते, दिउसो १ बजेर १४ मिनेटबाट
एकादशी तिथि समाप्ति: साउन २० गते, दिउसो ३ बजेर ३२ मिनेटसम्म
व्रत समाप्त गर्न सकिने समय: साउन २१ गते बिहान ६ बजेदेखि ८ बजेर ४१ मिनेटसम्म

कमिका एकादशीको महत्व
स्वयम् भगवान श्रीकृष्णले कामिका एकादशी उपवासको महत्व वर्णन गरेका छन्। यस दिन व्रत राख्नाले भक्तको सबै मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ। एकादशीको दिनमा भगवान विष्णुको पूजा गर्नु लाभदायक हुन्छ।

व्रत वा पूजा विधि
कामिका एकादशीको दिन बिहान सबेर उठेर सफा तथा स्वच्छ पानीले स्नान गर्नुपर्छ। सबैभन्दा पहिले व्रतको संकल्प लिनुहोस् र पूजा स्थललाई जलले शुद्ध गर्नुहोस्।

श्रीहरिलाई दूध, पञ्चमृत, मौसमी फल, पहेलो फूल, तिल आदि अर्पण गर्नुहोस्। धेरै भन्दा धेरै समय ब्रह्माण्डको संरक्षक भगवान विष्णुको नाम जप गर्नुहोस्। यस दिन ब्राह्मणहरुलाई भोजन गराउनुहोस् र दक्षिणा दिनुहोस्। यदि यो सम्भव छैन भने आफ्नो सामर्थ्य अनुसार गरीबलाई सहयोग गर्नुहोस्। एकादशीको पूजामा विष्णु सहस्त्रनाम पाठ गर्नुहोस्।

