काठमाडौँ – इजरायल रोजगार खुला भएको केहि दिनमै ठूलो संख्यामा आवेदन परेको छ। सरकारले इजरायलका लागि रोजगारी खुला गरेको दुई दिनमै ९ हजार भन्दा बढी आवेदन परेको हो।
वैदेशिक रोजगार विभागले १ हजार जनाका लागि आवेदन खुला भएको दुई दिनमै ९ हजार भन्दा बढी आवेदन परिसकेको जनाएको छ। विभागका अनुसार बिहिबार सम्म ९ हजार ६२२ जनाले आवेदन दिसकेका छन्। आउने दिनमा यो संख्या अझै बढ्न सक्ने विभागको अनुमान रहेको छ।
विभागले अनलाइनमार्फत नै आवेदन दिने व्यवस्था गरेको छ। आवेदनको सबै काम अनलाइन माध्यमबाट नै गर्ने गरी प्रणालीको व्यवस्था गरिएको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए। आवेदन दिएपश्चात छनोट भएका परीक्षार्थी भने काठमाडौं आएर नै लिखित परीक्षा दिनु पर्नेछ।
इजरायल रोजगारीका लागि शैक्षिक योग्यता र अनिवार्य तालिमको प्रावधान रहेका छ।
इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्ने सम्बन्धि अत्यावश्यक नियम तथा शर्त निम्न छन् –

आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२. आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४. प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ ।
५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।
६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ ।
कति हुन्छ तलब ?
नेपाल र इजरायल सरकारबीच गत वर्षको असोज १४ गते श्रम सम्झौता, माघ ८ गते प्रोटोकलमा हस्ताक्षर भएको थियो भने यहि वर्ष निर्देशिका पास भएको थियो । इजरायलको अशक्त नागरिकको स्यारकेन्द्रमा काम गर्न जाने नेपालीले मासिक १ लाख ९० हजार रुपैया सम्म पारिश्रमिक पाउनेछन्।

