एजेन्सी – बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले बार्सिलोना र लियोनेल मेस्सी बीच छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। एक अन्तर्वार्ताका क्रममा पिकेके बार्सिलोना र मेस्सी बीच नयाँ सम्झौता हुने र त्यो छिट्टै घोषणा हुने विश्वास व्यक्त गरेका हुन्।
अन्तर्वार्ताका क्रममा बार्सिलोनाका सबैले मेस्सीले नयाँ सम्झौता गर्छन् भन्ने आशा राखेको उनले बताए। सम्झौता थप्ने विषयमा मेस्सीको तर्फबाट छिट्टै निर्णय हुन सक्ने उनको अनुमान छ।
“हामी उनको नयाँ सम्झौताको पर्खाईमा छौँ। नयाँ सम्झौता गरेर उनी हामी माझ हुनेछन् भन्ने आशा छ। “,पिकेले भने,”मलाई आशा छ उनी बार्सिलोनामै रहने कुरामा स्पष्ट भैसकेका छन्।”
त्यस्तै पिकेले सिजनको शुरुवात देखि नै उच्च लयमा रहने आफूहरु योजना रहेको पनि बताएका छन्। लालिगा जित्नको लागि सिजनको शुरुवात देखि नै लय समाउनुपर्ने उनको भनाई छ।
उनले भने,”हामीले राम्रो शुरुवात गर्न कोसिस गर्नु पर्छ। सामान्यतया, सिजनको शुरुवातमै लय समाउन सकेको खण्डमा मात्र लिग जित्न सकिन्छ। लिग जित्न हामीले राम्रो लय समाउनेछौँ भने त्यसलाई पछि सम्म निरन्तरता दिने छौँ।”

