काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन। आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ,’ एमाले स्रोतले भन्यो। आफू दोस्रो अध्यक्ष नहुने तर आफूनिकट कार्यकर्तामाथि भेदभाव हुन सक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए।
एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टीभित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाइ रहँदै आएको छ। कोही पनि अन्यायमा नपरून् भन्ने नेता नेपालको चाहना रहेकाले त्यस्तो सर्त अघि सारिएको उनीनिकट एक नेताले बताए। तर ओली र उनको समूहमा रहेका केही नेताले सो विषयलाई नरुचाएको बताइएको छ।
ओली पक्षबाट कार्यदलमा रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली जसरी पनि पार्टीलाई फुट्नबाट जोगाउनुपर्छ भनेर लागिरहे पनि ओली र उनीनिकट अन्य केही नेताले भने निर्वाचन आयोगलगायत निकायहरूमा संयुक्त हस्ताक्षरको प्रबन्ध गर्नै नहुने अडान राख्दै आएका छन्। सोही अडानका कारण ओली र नेपालबीच पछिल्लो समय कुनै संवाद हुन नसकेको जनाइएको छ। नेता नेपालले आफूलाई भेट्न पुगेका नेम्वाङ र पौडेललाई कुरा मिलेपछि मात्रै ओलीसँग भेट्ने त्यसअघि हुने भेटको कुनै अर्थ नहुने बताएका थिए।
उनीहरूको भेटमा केही सकारात्मक कुराकानी भए पनि दुवै नेताबीच संवादको वातावरण भने बन्न सकेन। ओलीका तर्फबाट विधान संशोधन गरेर भए पनि नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरिएको थियो। तर नेपालले अस्वीकार गरेपछि बराबरीको हैसियतमा संयुक्त हस्ताक्षरको विषय अघि सारिएको थियो।
ओलीले शुक्रबारसम्म जसरी पनि विवाद निरूपण गर्नुपर्ने र शनिबार स्थायी कमिटीको बैठक बस्ने बताएका थिए। त्यही क्रममा ओलीका तर्फबाट बिहीबार र शुक्रबार क्रमशः नेम्वाङ र पौडेलले नेपालसँग कुराकानी गरेका थिए। उनीहरू दुवैले कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्न र भेटघाट गरी विवाद मिलाउन अनुरोध गरेको थिए।
नेपालले कुरा नमिलीकन भेटघाट नगर्ने बताएपछि ओलीले शनिबार दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका थिए। तर बैठक कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेताहरू पुगिसके पनि एकता प्रक्रियालाई अघि बढाउन भन्दै बैठक स्थगित गरिएको थियो। ‘नेताहरूसँगको भेटघाटमा मीठा कुराकानी हुन्छन् तर निष्कर्ष निस्कँदैन। आइतबारसम्म केही प्रगति भइहाल्छ कि भनेर आज (शनिबार) को बैठक स्थगित गरिएको हो,’ स्थायी कमिटीका एक सदस्यले भने।

