ग्रिजमन र डिपाए चम्किए, बार्सिलोनाको सहज जित !

एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले एक गोल तथा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन क्लबमाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली भिएफवी स्टुटगार्टमाथि सहज जित हात पारेको हो । मर्सिडेस बेन्ज एरिना स्टुटगार्ट जर्मनीमा बार्सिलोनाको सहज जितमा मेम्फिस डिपाए, युसुफ डेमिर र रिकी पुचले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल निस्किएको थियो ।

खेलको २१औं मिनेटमा यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपाएले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले फ्रान्की डि योङको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा युवा मिडफिल्डर युसुफ डेमिरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । उनले ग्रिजमनकै पासमा गोल गरेका थिए । पुच ६२औं मिनेटमा पाब्लो गाभिराको स्थानमा मैदान छिरेका थिए ।

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनाको यो लगातार तेस्रो जित हो । बार्सिलोनाले यसअघि जिम्नास्टिक र जिरोनालाई हराएको थियो । अब बार्सिलोनाले ४ अगस्टमा अष्ट्रिय क्लब रेडबुल साल्जवर्गसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ९ अगस्टमा इटालियन क्लब युभेन्ट्ससँग जोन ग्याम्पर ट्रफी खेल्ने छ ।

प्रकाशित : आइतबार, साउन १७, २०७८०७:४५

मोरिबाका डिमाण्डले बार्सिलोना वाक्क-दिक्क !