काठमाडौं : प्रहरीको भावी नेतृत्वको एकल दाबेदार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल यति बेला तनावमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा पोखरेल एआईजीमा बढुवा भएका हुन्। पोखरेल तनावमा हुनुको प्रमुख कारण हो, ओलीकै पालामा अर्का डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।
भक्तपुर घर भएका थापाले एआईजीमा बढुवा हुन एमालेकै नेता महेश बस्नेतमार्फत तत्कालीन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए। बस्नेतले केही दिनअघि मात्रै युवा संघको कार्यक्रममा भने, ‘प्रहरीमा अब जो आईजीपी भए पनि एमाले बलियो छ।’
बस्नेतको भनाइ र सरकारको गराइबीच तारतम्य मिलेको देखिन्छ। भलै पोखरेल थापाभन्दा वरिष्ठ एआईजी हुन्। तर, महानिरीक्षक नियुक्ति प्रक्रियामा सरकारले चाहेको व्यक्तिलाई सिफारिस गर्न सक्छ।
एआईजीद्वय पोखरेल र थापा प्रहरी सेवा प्रवेश (इन्स्पेक्टर)मा एउटै ब्याजका भए पनि पोखरेल ६ महिनाअघि एआईजीमा बढुवा भएका कारण ‘सिनियर’ मानिन्छन्। उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एआईजीको संख्या बढाउने तयारी गरेका छन्। भावी आईजीपीको प्रतिस्पर्धामा रहेका पोखरेल र थापा दुवैलाई राजनीतिक दृष्टिकोणबाट आएको बुझाइ देउवाको छ। केही डीआईजीले विभिन्न शक्ति केन्द्रमार्फत एआईजी संख्या बढाउनुपर्ने र भावी नेतृत्वबाट थापा र पोखरेल दुवैलाई वञ्चित गर्नुपर्ने दबाब देउवालाई दिएको स्रोतको दाबी छ।
ओली सरकारले नै सरुवा गरेका चार एआईजीलाई पुरानै कार्यालयमा थमौती गरेर देउवाले प्रहरी आफूले भनेअनुसार चल्नुपर्ने जनाउ दिइसकेका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव महेश्वर न्यौपानेलाई अन्य एआईजीको सरुवा गरेपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पाललाई नचलाउन सुझाव दिएका थिए। तर, मन्त्रिपरिषद्ले सरुवा गर्दा चारै एआईजीको गरेको थियो।

