इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई बार्सिलोनाले आफ्ना स्टार फरवार्ड एन्टोइन ग्रिजम्यानलाई डिफेन्डर भिक्टर लिन्डेलोफसँग सट्टा-पट्टा गर्न प्रस्ताव गरेको छ। आर्थिक सङ्कटमा रहेको बार्सिलोना यो सिजन खेलाडीहरुको पारिश्रमिक बिल घटाउने प्रयासमा रहेको छ, जसको कारण स्पनिस महारथी ग्रिजम्यानलाई बेच्न सकारात्मक रहेको छ।

२०१९ मा एथलेटिको म्याड्रिबाट बार्सिलोनासँग अनुबन्ध भएका फ्रेन्च स्टार पूर्व क्लब म्याड्रिडमा नै फर्किने हल्ला पनि चलेको थियो। ग्रिजम्यान र साउल निगुएज बीच सट्टा-पट्टाको चर्चा पनि चलेको थियो तर उक्त ट्रान्सफर हुन सकेन। गोल डिजिटलका अनुसार अब बार्सिलोनाको ध्यान युनाइटेडका डिफेन्डर भिक्टर लिन्डेलोफ तर्फ मोडिएको छ।

गत सिजन नियमित रूपमा युनाइटेडको ब्याक-लाइनमा ह्यारी मगवायरको पार्टनरको रुपमा देखा परेका स्विडिस अन्तराष्ट्रिय गत हप्ता क्लबले फ्रेन्च स्टार डिफेन्डर रफाएल भारान अनुबन्ध गरेसँगै क्लबको पेकिंग अर्डरमा पछि परेका छन्। त्यस्तै, ग्रिजम्यानले क्लब छाडेको खण्डमा बार्सिलोनाले हाल हयाल फ्री-एजेन्ट रहेका पूर्व कप्तान लियोनल मेस्सीलाई दर्ता गर्न सहज हुनेछ।

विश्व विजेता फ्रेन्च स्टारले बार्सिलोनाका लागि २० गोल गर्न सफल भएका छन् तर उनी क्लबको अपेक्षामा कतै खरो उत्रिन भने सकेका छैनन्। तर ग्रिजम्यान मात्र बार्सिलोनाले बेच्न खोजेका खेलाडी भने हैनन्। स्पेनिस पत्रिका मार्काका अनुसार सामुएल अम्टिटी, मिरालेम पिजानिक, फिलिपे कौटिन्हो र उसमाने डेमबे पनि उचित अफर आएको खण्डमा क्लबको ट्रान्सफर सूचीमा रहेका छन्।

क्लबले जारी ट्रान्सफर विन्डोमा सर्जियो अगुएरो, एरिक गार्सिया र मेम्फिस डेपेलाई फ्री-ट्रान्सफरमा अनुबन्ध गरेको छ। यस्तोमा तपाईंलाई के लाग्छ बार्सिलोनाका स्टार फरवार्ड एन्टोइन ग्रिजम्यानले क्लब छाड्लान त ?

