विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा !

गण्डकी, १७ साउन – झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवद्र्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत पुनःठप्प बनेको पर्यटन अझै सुनसान छ ।

पर्यटनलाई पुनःचलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउछन् । “पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ”, उनले भने ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्नसक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुर्नतालिकीकरण गर्नुपर्ने बताए ।

ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्र«े, अन्नपूर्णलगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् ।

पर्यटन क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको र सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटन व्यवसायीलाई हालसम्म पनि कोरोनाको खोप नदिँदा आफूहरूलाई चिन्तित बनाएको व्यवसायी बताउँछन् ।

विगतमा नियमित मात्र नभई नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधार निर्माण गरेका थिए । जनस्तरबाटसमेत ठाउँठाउँमा पर्यटन लक्षित पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ ।

कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिन थालेको छ ।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताए ।

कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको बताउँदै उनले विस्तारै कोरोनाको प्रभाव कम हुँदै पर्यटनमा नवीनतम् आशा र विश्वास पलाएर जाने विश्वास व्यक्त गरेका छन् ।

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा ७०० व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार २९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ १०० जना व्यवसायी आबद्ध छन् । यसमा रु एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सिजतर्फ १५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै रु ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सिजतर्फ १८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी रु ७९ करोड ७५ लाख ५० हजार छ भने रु १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ ।

पोखरामा पर्यटन सम्बद्ध प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट सप, इम्ब्रोडयरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायी, गाउँ पर्यटन, पर्वतारोहण आदिमा व्यवसायीको करौडौँ रुपैयाँ लगानी छ भने बैंकको लगानी पनि त्यत्तिकै रहेको छ । पोखरामा सबै किसिमका पर्यटनसम्बद्ध व्यवसायमा झण्डै २१ हजार जनशक्तिले रोजगारी पाएका छन् । कोरोना कहरका कारण व्यवसाय नै बन्द हुँदा यस क्षेत्रमा खटिने जनशक्तिलाई कसरी जोगाउने भन्ने चिन्ता छ ।

पोखराका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका गाउँमा घरबास कार्यक्रमअन्तर्गत पनि ठूलै लगानी भइसकेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए । कोरोनाको कहर विस्तारै कम हुँदै जाने र पर्यटन क्षेत्र चलायमान हुने विश्वासका साथ गाउँ पर्यटनलाई प्रविधिमैत्री बनाउन पहल गरिएको उनले बताए ।

कोरोना कहरका बाबजुद पनि चाँडै नै पर्यटन क्षेत्र चलायमान बन्ने विश्वासका साथ पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय ‘ब्रान्डिङ’ गर्ने विषयलाई प्राथमिकतामा राखिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए । ब्रान्डिङकै क्रममा विगतमा प्याराडाइज पोखराका नामबाट परिचित पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनी उल्लेख गरिएको भण्डारीले जानकारी दिए ।

पर्यटन क्षेत्रलाई बचाउनका लागि त्यहाँ काम गर्ने मजदूरलाई टिकाउनु जरुरी भएकाले उनीहरूलाई आगामी दिनमा पदयात्रा मार्गको संरक्षण, मर्मतसम्भार आदिमा लगाउने लक्ष्य राखिएको भण्डारीले जानकारी दिए ।

“घरबासका पूर्वाधार विकास आदिका लागि पनि पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी सिर्जना गर्ने सोचका साथ समुदायमा आधारित रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रम पनि अघि बढाउने सोचमा छौँ”, उनले भने ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१३:०८

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता !