राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ। आइतबार बसेको संस्थाको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको बताइएको छ। प्रतिष्ठानले गरेको निर्णय सार्वजनिक भइनसकेको भएता पनि बैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको प्रतिष्ठानका उप–महासचिव शिव हमालले जानकारी दिएका छन्।

दुर्गेशले १० दिनअघि सार्वजनिक गरेको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीतमा ‘ख्यास्स पुतली’ शब्द आपत्तिजनक रहेको भन्दै उक्त शब्द फेरबदल गरेर मात्र गीत सार्वनजिक गर्नको लागि दोहोरीगीत प्रतिष्ठानले दुर्गेशलाई पत्र पठाएको थियो। प्रतिष्ठानले दुर्गेशको उक्त गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने बताएको थियो।

तर प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीतमा कुनै शब्द परिवर्तन नगरी गीत लेराएका थिए। गीत सार्वजनिक भएसँगै सर्वत्र त्यसको आलोचना भइरहेको छ। दुर्गेशको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ लाई लिएर अहिले सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन्। अहिले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आफूहरुले गरेको आग्रहलाई अटेर गरी गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णय गरेको हो।

