एजेन्सी – विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको भविष्य युवा स्टार फरवार्ड किलियन एम्बाप्पेको हातमा रहेको छ। रोनाल्डोको भविष्य र एम्बाप्पेको भविष्य एक अर्कासंग सम्बन्धित रहेको अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
पछिल्लो समय रोनाल्डो युभेन्टस छाड्ने पक्षमा रहेका छन्। छुट्टि मनाएर युभेन्टसको प्रशिक्षणमा फर्किएपनि उनी युभेन्टस छाड्ने योजनामा अरहेको बताइन्छ। तर अझै उनको भविष्य के हुने भनेर टुंगो लागिसकेको अवस्था छैन।
युभेन्टस छाड्ने योजनामा रहेका रोनाल्डो कहाँ ल्याण्ड हुन्छन् भन्ने कुरा एम्बाप्पेको निर्णयमा भर पर्नेछ। एम्बाप्पेलाई भित्र्याउने रियल म्याड्रिडको योजना नौलो होइन। गएको दुई वर्ष देखि रियलले एम्बाप्पेलाई भित्र्याउन अनेक प्रयास गरिरहेको छ।
सन् २०२२ मा सम्झैता सकिँदै गरेका एम्बाप्पेले पेरिस सेन्ट(जर्मन)मा सम्झौता थप नगर्ने स्पष्ट पारिसकेका छन्। एम्बाप्पेले पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोलाई एक सिजनका लागि आफू पिएसजीमा रहेपनि सम्झौता थप नगर्ने स्पष्ट पारेका हुन्।
एम्बाप्पेले पिएसजीमा सम्झौता थप नगर्ने स्पष्ट पारेपछि सबै भन्दा बढी उत्साहित रियल भएको छ। एम्बाप्पेलाई भित्र्याउन अब सहज हुने उसको अनुमान रहेको छ।
बताइएअनुसार, एम्बाप्पे रियल गएको खण्डमा रोनाल्डो पिएसजी जानेछन्। रोनाल्डोलाई पिएसजीले प्राथमिकतामा राखेको छ। एम्बाप्पेले क्लब छाडेको खण्डमा रोनाल्डोलाई पिएसजीले भित्र्याउने छ। त्यस्तै एम्बापपे रियलमा नगएको खण्डमा रोनाल्डो रियल फर्किन सक्नेछन्। यस हिसाबले रोनाल्डोको भविश्व एम्बाप्पेको हातमा रहेको फुटबलका जानकारीहरु टिप्पणी गर्छन्।

