फाबिन्हो लिभरपुलमै प्रतिवद्ध, नयाँ सम्झौतामा गरे हस्ताक्षर !

एजेन्सी – लिभरपुलका स्टार फाबिन्होले थप पाँच वर्षको सम्झौता गरेका छन्। फाबिन्हो लिभरपुलसँगको सम्झौता ५ वर्ष थप गर्न तयार भएका हुन्। फाबिन्हो सम्झौता थप गर्न तयार भएको लिभरपुलले पुष्टि गरेको छ।

२७ वर्षीय ब्राजिलियन सन् २०१८ मा लिभरपुल पुगेका थिए। गएको ३ वर्षमा उनी लिभरपुलका लागि धेरै नै महत्वपूर्ण खेलाडी सावित भएका छन्। मिडफिल्ड मात्र नभई डिफेन्स समेत सम्हाल्न सक्ने उनी विश्वकै उत्कृष्ट मिडफिल्डर मध्येमा पर्छन्।

गत सिजन खेलाडी घाइते हुने समस्याका कारण क्लबमा डिफेन्डरको खडेरी पर्दा उनले क्लबको डिफेन्स सम्हालेका थिए। फाबिन्होले सम्झौता थपेको विषयमा लिभरपुलले आधिकारिक रुपमै पुष्टि गरिसकेको छ। नयाँ सम्झौता सँगै उनले सन् २०२६ सम्म लिभरपुलमा रहने भएका छन्।

“फाबिन्होले लिभरपुल एफसीसँग एक नयाँ दीर्घकालीन सम्झौता हस्ताक्षर गरेका छन्।”,लिभरपुलको अधिकारी वेबसाइटले लेखेको छ। लिभरपुल डट कमका अनुसार उनले मंगलबार प्रिसिजन ट्रेनिंग क्याम्पमा नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

‘क्लबमा धेरै सन्तुष्ट छु’

नयाँ सम्झौता गरेपश्चात फाबिन्होले आफू लिभरपुलमा धेरै सन्तुष्ट रहेको बताएका छन्। सम्झौता थप गर्ने विषयमा छलफल चलेदेखि नै आफू सकारात्मक रहेको र अहिले आएर त्यसलाई मूर्तरुप दिन नयाँ सम्झौता गरेको उनको भनाई छ।

साथै उनले गएको तीन वर्षमा क्लबका प्रशिक्षकबाट धेरै कुरा सिक्न मिलेको पनि बताएका छन्। क्लबका अन्य अधिकारी तथा सहकर्मी खेलाडीहरुबाट पनि धेरै सिकेको उनले लिभरपुल डट कमलिई बताए।

प्रकाशित : बुधबार, साउन २०, २०७८१३:२२

‘सन्यासका लागि यो सही समय हो’ – पूर्वकप्तान पारस खड्का!